काठमाडौं विश्वविद्यालयमा तालामाथि ताला थपियो, पठनपाठन ठप्प

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालयमा पठनपाठन ठप्प भएको छ । विगत लामो समयदेखि आन्दोलन हुँदै आएपनि काठमाडौं विश्वविद्यालयको पठनपाठन ठप्प भएको थिएन् ।

तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको छ ।पेशागत हकहितको माग राखेर शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात गराएको भन्दै प्राध्यापक र कर्मचारीहरुले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग गरेका छन् । डीन, सहायक डीन र केही अराजक व्यक्तिहरुले भिडन्त निम्त्याएको उनीहरुको आरोप छ । तर बुधबार नै स्कुल अफ मेडिकल साइन्सेजले विज्ञप्ति निकालेर असहज परिस्थिति सिर्जना गर्न खोज्ने समूहलाई धुलिखेल अस्पतालका बिरामीका कुरुवाहरुले लखेटेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालयमा आन्दोलन हुनु सामान्यजस्तो भइसकेको छ । कहिले पेशागत हकहितको मागले, कहिले विश्वविद्यालय सभामा प्रतिनिधित्वको विवादले र कहिले पठनपाठनको वातावरण नभएको भन्दै आन्दोलन हुने गरेको छ । २०७३ माघमा पढ्ने वातावरण नभएको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमै एक घण्टासम्म पढेर सांकेतिक विरोध जनाएका थिए । यस्तै गत साउन महिनामा प्राध्यापक र कर्मचारीहरुले परीक्षा सञ्चालन बहिस्कार गरेपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

बुधबार धुलिखेल अस्पताल परिसरमा रहेको स्कुल अफ मेडिकल साइसेन्जमा ताला लगाउने र ताला लगाउन नदिने समूहबीच विवाद भएको थियो । उनीहरुबीच धकेलाधकेल भएपछि प्रहरी आएर रोकेको थियो । जसका कारण डिनको कार्यालयमा ताला लागे पनि सहायक डिनको कार्यालयमा भने ताला लाग्न पाएको थिएन ।

काठमाडौं विश्वविद्यालय, प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ मसान्तमा चार बुँदे सहमति भएको थियो । १०६ दिनसम्म पनि सो सहमति कार्यान्वयन नभएपछि उनीहरुले यही पुस १५ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही कार्यक्रमअनुसार स्कुल अफ मेडिकल साइन्सेजको डिनको कार्यालयमा ताला लगाउने क्रममा विवाद भएको हो । स्कूल अफ मेडिकल साइन्सेजका डीनको कार्यालयमा चार महिनाअघि एमबीबीएसका विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन । सोही तालामाथि प्राध्यापक र कर्मचारीहरुले अर्को ताला थपेका छन् ।