नक्कली स्मार्ट लाईसेन्स र सरकारी परिचयपत्र बनाउने गिरोह पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका नक्कली परिचयपत्र बनाई बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी १५ घर भई हाल जडिबुटी बस्ने २७ वर्षका दिपक ब्लोन, हरिवन १ घर भई हाल कुलेश्वर बस्ने ४८ वर्षका शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाण्डौ ६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीय अनन्ता गुरुङ, बारा जितपुर सिमरा १ घर भई हाल अनामनगर बस्ने ३१ वर्षका अशोक कार्की, सिराह सुखिपुर ४ घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षका मोहन यादव र काठमाण्डौ २ लाजिम्पाट बस्ने ५६ वर्षका कुमार तण्डुकार रहेका छन् ।

नक्कली स्मार्ट लाईसेन्स बिक्रि भएरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, काठमाण्डौको संयुक्त टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो । पक्राउ परेका तण्डुकार कन्सर्न फोटो स्टुडियोका सञ्चालक समेत रहेका छन् ।

काठमाडौको न्युरोडमा रहेको फोटो कन्र्सन प्रा.लि. बाट नक्कली स्मार्ट लाईसेन्स बन्ने गरेको र विभिन्न व्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको पाइएपछि स्टुडियो सञ्चालकसहित अन्य पाँच जनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए । उक्त स्टुडियोबाट नक्कली लाइसेन्स ३० हजारमा किनबेच हुने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामध्ये दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, विभिन्न व्यक्तिहरुका सवारी चालक अनुमति पत्र ४ थान र नागरिकताका प्रमाणपत्रहरु समेत बरामद भएको थापाले बताए ।

यस्तै, उनीहरुको साथबाट प्रहरीले भारत सरकारको आधार कार्ड समेत फेला पारेको छ । न्युरोडमा रहेको उक्त स्टुडियो खानतलासी गर्ने क्रममा प्रहरीले लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, विभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, कम्प्युटको सिपियु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।