उपत्यकाको गुठीको मर्म अनुरुप ऐन आउनुपर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ गुठी विधेयकले काठमाडौं उपत्यकाको गुठीलाइ विशेष व्यवस्था गरेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र संघीय सांसद्, प्रदेश सांसद् र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबीच सोमबार भएको छलफलमा सो कुरामा जोड दिइएको हो । गुठीको मर्म अनुरुप काठमाडौं उपत्यकाको गुठीलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी कानून बनाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।

परम्परादेखि संस्कारको रुपमा विकास हुदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरुको माग रहेको छ ।
सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ति, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ । यसै सन्दर्भमा मन्त्री अर्यालले बीच छलफल गरिएको थियो ।

सो अवसरमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूति नयाँ गुठी विधेयकले गर्नुपर्ने बताउनुभयो । यहाँको गुठी संस्कृति भावनासंग जोडिएको विषय भएकोले संवेदनशील विषय भएको भन्दै उहाँले संस्कृति सञ्चालनका सन्दर्भमा हस्क्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानुन आउनुपर्ने बताउनुभयो । उहाँले गुठीलाई व्यवस्थित गर्दा उपत्यकालाइ विशेष व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकाका सन्दर्भमा गुठी भनेको भावनासंग जोडिएको विषय भएकोले उपत्यकाबासीको भावनात्मक विषयलाई चोट नपुग्नेगरी विधेयक ल्याउन आग्रह गर्नुभयो । समग्र गुठी व्यवस्थापन गर्दा प्राधिकरणको वोर्ड निर्माण प्रकृया तथा काम, कर्तव्य र अधिकारमा समेत हेरफेर गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले उपत्यकाको गुठीलाइ विशेष सम्बोधन हुनेगरी विधेयक आउनुपर्ने बताउनुभयो । विगतमा गुठीका जग्गा विभिन्न बहानामा अतिक्रमण भएको घटना उपत्यकामा थुप्रै भएको दृष्टान्त उल्लेख गर्दै काठमाडौंबासीको गुठीसंग जोडिएको भावनामा चोट नपुग्नेगरी विधेयक आउनुपर्ने बताउनुभयो । रानीपोखरी, असन जस्ता क्षेत्रमा गुठीको जग्गा व्यक्तिको नाममा बनाइएको भन्दै उहाँले ती घटनाले पनि गुठी विधेयक सम्बन्धमा बढी उपत्यकाबासीलाइ बढी चिन्तित बनाएको उहाँको भनाइ थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताउनुभयो । काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको मेयर शाक्यको भनाइ थियो ।

मन्त्री पद्माकुमारी अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताउनुभयो । सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै उहाँले त्यसका विषयमा छलफलकै चरणमा रहेकाले मस्यौदा तयार भइसकेको बताउनुभयो । ’हामीले मस्यौदा बनाउनुभन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडी बढाएका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ’काठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउछौ ।’

त्यस अवसरमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाल गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमि सम्बन्धी कानुन कार्यान्वयन गर्न सहज होस् भनेर विभिन्न चरणमा छलफल अगाडी बढाइएको बताउनुभयो । सचिव गौतमले कानुन बनाउदा के विषयलाइ कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण भएकाले छलफल गरिएको बताउनुभयो ।