डिकेएस मिनरल वाटर उद्योगमा सिलबन्दी

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमन थालेको छ । उपभोक्ता हित संरक्षणको लागि भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तह, उपभोक्ता संस्था, उद्योग व्यापार संघ र पत्रकारहरु सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा डिकेएस मिनरल वाटर प्रालि उद्योगले बिक्रि गर्दै आएको पानी गुणस्तरहिन भेटिएपछि प्रशासनद्धारा उद्योगलाई सिलबन्दी गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले एक प्रेस विज्ञप्ती जारी गर्दै डिकेएस मिनरल, गण्डकी आयल मिल प्रा.लि.बाट उत्पादित कोशेली र साधना ब्राण्डका शुद्ध तोरीको तेल, केही सुनचाँदी पसलको अनुगमन गरेको उल्लेख गर्नुभएको छ । डिकेएस मिनरल वाटर उद्योगका संस्थापक र व्यवस्थापकलाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार कारवाहि प्रक्रिया अगाडी बढाएको प्रजिअ कुरुम्बाङ्ले प्रेस विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

प्रशासनले गण्डकी आयल मिल प्रा.लि.बाट उत्पादित कोशेली र साधना नामक शुद्ध तोरिको तेललाई स्याङ्जामा विक्रिवितरणमा रोक लगाउनुका साथै जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरी कारवाहि प्रक्रिया अगाडी बढाउन आग्रह गरेको छ । प्रशोधित पानी र तोरीको तेलको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौ पठाएको थियो । विभागले गुणस्तरहिन भएको रिपोर्ट पठाएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारवाहिको प्रक्रिया अगाडी बढाएको प्रजिअ कुरुम्बाङ्ले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । दुवै उद्योगलाई अर्को आदेश नआए सम्मका लागि उत्पादन र विक्रिका लागि रोक लगाएको छ ।

टोलीले पुतलीबजारमा रहेका ३ सुनचाँदी पसलको समेत अनुगमन गरेको छ । गुणस्तर परीक्षणका लागि नमुना संकलन गरी गुणस्तर तथा नापतौल विभाग काठमाण्डौ पठाएकोमा मापदण्ड भन्दा बढी मिसावट गरी विक्रि गरेको फेला परेको जनाएको छ । ३ सुनचाँदी पसललाई पनि प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाएको प्रशासनले जनाएको छ ।

बजारमा सामाग्रीको भाउ आकाशिएको गुनासो उपभोक्तबाट पटक पटक आइरहेका बेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुगमनलाई कडाईका साथ अगाडी बढाएको छ । यो जिल्लाका विभिन्न व्यापारीक केन्द्र सगै ग्रामिण भेगमा पनि अनुगमन गर्ने प्रशासनले जनाएको छ । पहिलो पटक जिल्ला सदरमुकाम पुतलीबजारबाट अनुगमन शुरु गरेको छ । सम्झाउने काम सहित शंका लागेको बस्तुको परीक्षण गर्ने काम हुनेछ प्रजिअ कुरुम्बाङले भन्नुभयो,“सम्झाउदा पनि उपभोक्तलाई मारपर्ने खालको गतिविधि दोहोराएमा कालोबजारी ऐन अनुसार कारवाही अगाडी बढाईने छ ।” आफ्नो स्वास्थ्य जस्तै अरुको पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने भावना हरेक व्यवसायीको हुनुपर्छ कुरुम्बाङ्ले भन्नुभयो ।

विगतका बर्षहरुमा अनुगमनलाई खासै पारदर्शिता नदेखाउदा कालोबजारी गर्ने व्यावसायीले मौका पाउने गरेका थिए । तर यो पटकको अनुगमनमा केही कडाई भएपछि व्यावसायी पनि सचेत हुने संकेत देखिएको छ । यो अनुगमनले उपभोक्तको हितमा काम गर्ने विश्वास आम सर्वसाधरणले लिएका छन् । हरेक हप्ता एकपटक बजार अनुगमन प्रक्रियालाई अगाडी बढाउने प्रशासनले जनाएको छ ।