असनमा एक दिने महोत्सव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

असनको ऐतिहासिकता प्रवर्धन गर्न शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ । भोटाहिटी, इन्द्रचोक र बाङ्गेमुढातर्फबाट आउने सवारी साधनलाई रोकेर वडा २७ ले असन सेवा समाजको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । ‘नेपा या, म्हसीका, नेपा या गौरव, राज्यं हे छ्यलेमा नेपाल संबत् (नेपालको पहिचान र गौरव भएको नेपाल संबत् सरकार आफैंले सञ्चालन गर्नुपर्छ)’ नारासहित असन चोकमा महोत्सव चलाइएको हो ।

महोत्सव शुभारम्भ गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्राचीन महत्व बोकेका मठ मन्दिर, बहाल बहिल तथा चोकजस्ता मूर्त सम्पदा र बाजागाजा तथा नाचको संरक्षण तथा प्रबर्धनका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । काठमाडौंको पहिचान भनेको यसको मौलिकता हो । उहाँले यस्तो महोत्सवमा कामपाले निरन्तर सहयोग गर्ने बताउनुभयो । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले मौलिकता जोगाउन सके पहिचान जोगिएसँगै पर्यटनमार्फत आर्थिक लाभ पनि हुने धारणा राख्नुभयो ।

कामपाले भित्री वडा क्षेत्रमा सहरी पूर्वाधारसँगै सम्पदा संरक्षणका कामलाई प्राथमिताका राखिएको छ । कार्यक्रममा वडाका बारेमा जानकारी दिँदै वडा सदस्य नरेश महर्जनले प्राचीन बस्तुको गरिमा घट्न नदिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो । महोत्सवमा यमरी, बारा, मःम, छोयला, कचिला, सफुमिचा, चोही, बः लगायत परम्परागत नेवारी खाजाका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका छन् । महोत्सवमा नेपाल लिपि गुथिले रञ्जना क्लालिग्राफी अभियान सञ्चालन गरेको छ ।

त्यस्तै परम्परागत नाच र गायन गरी ३० वटा प्रस्तुति राखिएका छन् । यी प्रस्तुतिहरुमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता छ । वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार महोत्सवमा स्थानीय परम्परागत खानेकुराको प्रबर्धन गर्न ९ वटा खानाका स्टल राखिएका छन् ।