सडकमा माग्न बस्ने मानिसलाई मागेर नबस्न आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गुजारा चलाउन सडकमा मागेर बस्न नपाइने सन्देश दिन आजबाट सचेतनामुलक अभियान शुरु गरेको छ । महानगरले नेपाल प्रहरी, मानव सेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो । यस क्रममा आज नयाँ सडकस्थित संकटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकाहरुलाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको थियो ।

त्यस्तै संकटा मन्दिर व्यवस्थापन समितिका अधिकारीहरुसँग आफ्नो अभियानमा साथ दिन आग्रह गरिएको थियो । सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकबिहिन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामुलक कार्यक्रम चलाएका हौं, अभियानका क्रममा महानगरको सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो ।

यी सार्वजनिक स्थलमा दृष्टिबिहिनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु माग्न बसेका भेटिए । त्यस क्रममा सुन्धारा क्षेत्रको एक यात्रु प्रतिक्षालय एक व्यक्ति सिरक ओढेर सुतिरहेका थिए ।

अभियानका क्रममा सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको टोलीसँग भद्रकालीमा माग्न बसेको एक दृष्टि बिहिनको परिवारले आफूलाई लागेको ६ लाख रुपैयाँको ऋण कसले तिरिदिने भनेर प्रश्न राखेका थिए ।

त्यसबेला उनीहरुले टोलीलाई जवाफ दिएका थिए–‘हामीले चोरेका छैनौं, ढाँटेका छैनौं , महिनाको १५ हजार रुपैयाँ कोठा भाडा तिर्नुपर्छ । सरकारले हामीलाई पैसा दिन्छ र ? उनीहरुको अनुभव सुन्नासाथ टोलीले अब देखि नबस्न आग्रह गरेका थिए । कामपाले यो अभियान ७ दिन सम्म संचालन गर्नेछ ।