सन्तनेता भट्टराईको ९६ औं जन्यजयन्ती, देउवा निकट नेता कार्यकर्ताद्वारा बहिष्कार

0
Shares

राम धामी, डडेल्धुरा । 

सोमबारदेखि शुक्रबारसम्म विविध कार्यक्रमकासाथ नेपाली काँग्रेसका संस्थापक तथा पुर्वप्रधानमन्त्री सन्तनेता स्व. कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती भब्यताका साथ मनाइएको छ ।

नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको आह्वानमा नेपाली काँग्रेस नवदुर्गा गाँउपालिका–१ वडा कार्यसमितिको आयोजनामा चारदिनसम्म बिभिन्न कार्यक्रमको आयोजनागरि भब्यरुपमा जन्म जयन्ती मनाइएको हो । सोमबार सन्तनेता भट्टराईको ९६ औं जन्मजयन्तीका अवशरमा नवदुर्गा गाँउपालिका–१ कोटेलीमा नेपाली काँग्रेस ललितपुरका सभापति तथा सन्तनेता भट्टराईका अनुयायी मदनबहादुर अमात्यको प्रमुख आथित्यमा स्व. भट्टराईप्रति श्रञ्दाञ्जली अर्पणगर्दै चारदिने कार्यक्रम शुभारम्भ गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम, सन्तनेता भट्टराईका बारेमा प्रवचन कार्यक्रम र वृहत खेलकुद प्रतियोगिताको आयोजना गरेर भब्य रुपमा कार्यक्रम सम्पन्न गरिएको आयोजक नेपाली काँग्रेस नवदुर्गा गाँउपालिका–१ वडा कार्यसमितिले जनाएको छ ।

नेपाली काँग्रेस डडेल्धुराको आह्वानमा आयोजना गरिएको सो कार्यक्रममा डडेल्धुरा जिल्लामा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ नेता कार्यकर्ताहरुले भने सहभागिता जनाएनन् । डडेल्धुरामा आफुलाई सभापति देउवा निकट रहेको दाबीगर्दै आएका र सभापति देउवाका विश्वासपात्र मानिने जिल्ला कार्यसमितिका पदाधिकारीहरु, जिल्लास्तरीय र स्थानीय स्तरमा कृयासिल नेता कार्यकर्ताहरु सन्तनेता भट्टराईको जन्मजयन्तीका अवशरमा सहभागी नभएको बिषयले निकै चर्चा पाएको छ ।

“पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक जीवनमा सबैभन्दा कठिनाई परेका बेला कुशल अभिभावकत्व प्रदान गरेर पहिलो पटक मुलुकको प्रधानमन्त्री बनाउन भूमिका निर्वाह गर्नुभएका सन्तनेता स्व. भट्टराईको ९६ औं जन्मयजयन्ती भक्तपुरको बोडेगाँउमा जस्तै डडेल्धुरामा पनि भब्य रुपमा सम्पन्न भएकोछ,” कार्यक्रममा सहभागी हुन कोटेली पुगेका परशुराम नगरपालिका–७ का नेपाली काँग्रेस वडा सभापति बिरबहादुर थापा मगरले भने,“आफुलाई सभापति देउवा निकट बताउने नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी नहुनु निकै बिडम्बना हो ।

केन्द्रीय सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबासी सबैका नेता भएको उल्लेखगर्दै नेपाली काँग्रेस डडेल्धुराका पाका नेता तारादत्त पनेरुले पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी नहुने र सहभागी नहुन कार्यकर्ताहरुलाई उर्दी जारीगर्ने केहि ब्यक्तिहरुका कारण डडेल्धुरामा काँग्रेस कमजोर हुँदै गएको बताए । सभापति देउवाले त्यस्ता ब्यक्तिहरुलाई पहिचान गरेर कारवाही गर्नुको साटो संरक्षण गरिरहेको कार्यकर्ताहरुको गुनासो छ ।

सन्त नेता भट्टराईको जन्म जयन्ती भब्य रुपमा सम्पन्न गर्न डडेल्धुरा पुगेका नेपाली काँग्रेस ललितपुरका सभापति नेता अमात्यले आफुले ४० बर्षसम्म सन्तनेता भट्टराईको सानिध्यमा रहेर कामगर्ने अवशर प्राप्त गरेको बताउदै सन्तनेता भट्टराई नेपाली राजनीतिको जज्वल्यवान नक्षत्र भएको जिकिर गरे । उनले पार्टीका केन्द्रीय सभापति देउवाकै गृहजिल्लामा पार्टीभित्र गुटबन्दी मौलाउनु निकै दुःखद भएको जिकिरगर्दै पार्टी पंक्तिलाई एकढिक्का बनाउन सभापति देउवालाई आग्रह गरे ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सन्तनेता स्व. भट्टराईले २०४६ सालको संबिधान ६ महिनामै घोषणा गरेर इतिहासको जिम्मेवारी निर्वाह गरेको स्मरण गरे । शुक्रबार भब्य समारोहकाबीच नेपाली काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टसहित जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम समापन गरिएको थियो ।