तीन हजार व्यवसायीलाई अस्पतालद्वारा छुट

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालिबीच छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौतापत्र आदानप्रदान गरिएको छ ।

संघ वरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, अस्पताल अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर र व्यबस्थापक सुरेन्द्र बडुबीच सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौतापत्र आदानप्रदान भएको हो । सम्झौता पत्रअनुसार अस्पतालले संघआवद्ध सबै करिब ३ हजार सदस्यलाई ओपीडीबाहेक उपचार सेवामा छुट प्रदान गर्नेछ । जसमा ल्याब शुल्कमा १५ प्रतिशत, औषधी शुल्कमा ७ प्रतिशत र अन्य सेवा शुल्कमा १५ प्रतिशत छुट दिइने भएको हो ।

नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी सदस्यको हकमा उक्त सुबिधा लागु नहुने उल्लेख छ । सेवा तथा सुबिधाका लागि संघले सदस्यलाई प्रचारप्रसार गर्ने भनिएको छ । सम्झौतापत्र तीन वर्षमा नवीकरण हुनेछ ।

हस्पिटल अध्यक्ष पराजुलीले सदस्य स्वयम्को हकमा संघमा आवद्ध रही नवीकरण गरेको प्रमाणित परिचयपत्र र सदस्यका परिवारका सदस्यहरुको हकमा उक्त परिचयपत्रको साथमा नाता प्रमाणित हुने सरकारी कार्यालयले उपलब्ध गराएको प्रमाण पेश गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

संघ वरिष्ठ उपाध्यक्ष न्यौपानेले मकवानपुरको स्वास्थ्य उपचार क्षेत्रमा थप प्रगति आवश्यक रहेको औंल्याउँदै चुरेहिल हस्पिटलबाट उपलब्ध हुने छुट सुबिधाले उद्योगी/व्यवसायीलाई राहत पुग्ने बताउनुभयो ।