नानीमायाँ जसले युद्ध जितिन् तर गरिबी जित्न सकिनन्

0
Shares

कृष्णउदास खनाल, राईगाउँ (मकवानपुर) ।

आठ दाजु भाइ र पाँच दिदी बहिनी मध्यकै माइली छोरी हुन्,नानीमायाँ ब्लोन । २०५२ सालमा तत्कालिन माओवादीले सशस्त्र युद्धको घोषणा गरेको केही बर्षपछि उनको घरमा पनि नौला मान्छे आउन थाले । उनी पनि बिस्तारै ठूली हुदै थिइन् । गाउँको एक विद्यालयमा जेनतेन पढ्दै थिइन । घरमा आएका नौला मान्छेले उनलाई पार्टीमा हिँड्न दबाब दिन थाल्यो । कहिले दबाब त कहिले फकाउन थाल्यो ।

अन्ततः २०५९ सालमा उनी देशमा नौलो जनवादी सत्ता ल्याउने भन्दै माओवादीमा लागिन्। शुरुमा त उनलाई खासै केही गर्न लगाइएन तरपछि उनले नै आफूलाई जनमुक्ति सेनामा राख्न आग्रह गरेपछि पार्टीले उनलाई सैनिक तालिम दियो त्यसपछि उनले थ्रिनटथ्रि बोक्न थालिन । उनीसँग आधा दर्जन लडाइको अनुभव छ ।

मकवानपुर,सिराहा,सर्लाही लगायतका कयौं स्थानमा सेनासँग आमनेसामने भेट भयो,उनको । उनी सेनासँग लडिन । उनको हातबाट सेना मरेको भन्ने त उनलाई लागेको छैन तर उनी आफू जोगिनका लागि प्रतिपक्षका लागि फायर खोलिन् । थ्रिनटबाट बन्दुकको यात्रा शुरु भएको उनको जीवन अन्ततः एलएमजीमा पुगेर टुंगियो । माओवादीमा रहदैगर्दा २०६२ जेठ ८ गते उनी भोजपुरको भिडन्तमा परिन् ।

सेनालाई बर्साउने बम आफैतिर फर्किएर होवा साथीले हानेको बमले उनको शरीर छियाछिया भयो । उनी त्यही ठाउँमा ढलेको सम्म याद छ,उनलाई । उनी बिउँझदा तराईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । त्यत्तिबेला भिडन्तमा लागेको बमको छर्राले अहिले उनलाई घरीघरी घोच्छ ।

जाडो महिना लागेपछि उनको शरिर लगभग चल्दैन । विवाहको कुरा पार्टीभित्र हुँदै चलेको थियो तर उनले अस्वीकार गरिन् । पार्टीबाट घर फर्किएपछि उनले विवाह गरिन् । हाल उनका नौं बर्षको र ५ बर्षको दुईंवटा छोरा छन् । श्रीमान् बैदेशिक रोजगारीमा छन्। श्रीमानले कमाइ नै नभएको भन्दै घरमा पैसा पठाउदैनन् । छोराहरु राईगाउँमा रहेको बाग्मती माविमा पढ्छन् । पढाउन त जेनतेन पढाइकी छन् तर ती छोरालाई जाडो सेक्ने गतिलो लुगा पनि छैन ।बिहानबेलुका छाक टार्न पनि धौधौ छ ।

युद्धमा ज्यानको माया मारेर लडेकी नानीमायाँलाई युद्धको छर्राले त बिरोल्छ नै साथमा दुईछोराको मायाँले झनै बिलखबन्दनमा पर्ने गरेको गुनासो गरिन् । जसले परिवर्तनका लागि भन्दै आफू जस्तै चेलीलाई युद्धमा पुर्‍याए,शरिरमा गोली र छर्रा बोकाए,उनीहरुलाई आज आफ्नो हालत देखाउन लागेको नानमायँको भनाइ छ ।