तीन जना बालबालिका अपहरण गरेर फिरौती माग्ने दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तीन जना बालबालिकालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र अर्का एक होटल सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

गत २९ मंसिरमा सामाखुशीबाट तीन जना बच्चा अपहरित भएका थिए । ती बालबालिकालाई अपहरणकारीले टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाएर राखेको थियो । अपहरणकारीले तीन लाख रुपैयाँ फिरौती माग गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणकारीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले बन्धक बनाएर राखेको होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।