दुर्घटना न्यूनिकरणका लागि सडकमै सवारीचालकको आँखा परीक्षण

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

पछिल्लो एक महिनामै दुई ठूला भयानक बस दुर्घटनामा ३४ जनाको मृत्यु भएपछि अरनिको राजमार्गमा सवारी चालकका आँखा जाँच गर्न थालिएको छ । भयानक सडक दुर्घटनामा दर्जनौंको ज्यान गएपछि अरनिको राजमार्गमा सुरक्षा निगरानी बढाइएको हो । सडकमै सवारी साधन रोक्दै जिल्ला प्रहरी कार्यालयले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा शुक्रबारदेखि सवारी चालकका आँखा परीक्षण गर्न सुरु गरेको छ ।

शुक्रबार अरनिको राजमार्गको बन्देउ खण्डमा साना ठूला सवै सवारी साधनका चालकहरुलाई झारेर आँखा परीक्षण गरियो । सडक दुर्घटनामा चालकका दृष्टी भ्रम पनि कारक रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुको आँखा जाँच र थप उपचारका लागि सुझाउ गरेको छ । ‘यन्त्रिक गडबढीले पनि दुर्घटना हुन्छ, तर चालकका दृष्टि भ्रम पनि हुनसक्ने अनुमान लगाएर सडकमै सवारी चालकका आँखा परीक्षण सुरु गरेका हौं’, जिल्ला प्रहरी कार्यालयका प्रमू्रख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भन्नुभयो, ‘सडक दुर्घटना न्यूनिकरणका लागि तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सडकमै सवारी चालकका आँखा जाँच गरिरहेका छौं ।’ बन्देउ डाँडैमा क्याम्प खडा गरि लामो तथा छोटा दुरीका सवै खाले सवारी साधनका चालकहरुको दृष्टि, कलर र भिजनको परीक्षण भइरहेको छ ।

आँखा परीक्षणका क्रममा कतिपय सवारी चालकहरुको दृष्टिमा समस्या देखिएको छ । कतिपयको कलर भिजनमै समस्या पाइएको आँखा जाँचमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । समस्या पहिचान भएकाहरुलाई आवस्यक्ता अनुसारको चश्मा लगाएर मात्र सवारी चलाउन सुझाइएको छ भने थप उपचार गरेर मात्र स्टेरीङमा बस्न कतिपयलाई सुझाव दिइएको छ । बस नम्बरसहित चालकको विस्तृत विवरण र उसको समस्याबारे सम्बन्धित यातायात व्यवसायी कम्पनिमा पनि जानकारी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महर्जनले बताउनुभयो ।

सडक दुर्घटना बढिरहेका बेला सवारी चालक र यात्रुहरुलाई सडकमै झारेर सचेत समेत गराइएको छ । घाईते भएपछि मात्र नभई आफु सवार साधनमा समस्या देखिए तत्काल प्रहरीमा खबर गर्न पनि यात्रुहरुलाई आग्रह गरिएको छ । दुर्घटना न्यूनिकरणमा यात्रुबर्गको पनि भूमिका महत्वपूर्ण हुने भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी रामकृष्ण घिमिरेले चालकको लापर्वाही र यन्त्रिक गडबढीबारे तुरुन्तै प्रहरी प्रशासनमा खवर गर्न यात्रुहरुलाई आग्रह गर्नुभयो ।

दुर्घटना बढ्दो भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियममा थप कडाई गर्दै आएको छ । राजमार्गमा छड्के चेकजाँच गर्दै नियम मिच्ने सवारी साधनमाथि कार्वाहीको क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रनानि राजेशकुमार दाहालले बताउनुभयो ।