प्रदेश पाँचका १२ सहकारी वित्तिय सूचकांक र संस्थागत सुशासनबाट सम्मानित

0
Shares

यमलाल भुसाल, बुटवल ।

ऋण तथा वचतको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तिय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्रदेश ५ का १२ सहकारीले पाएका छन् ।

सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम अन्तर्गत ५१ वटा सूचकहरु मूल्यांकन गरेर गुणस्तर सुनिश्चितताको प्रोबेशन ब्राण्ड दिने गरेको हो ।

प्रोबेशन ब्राण्ड प्राप्तिका लागि देशभरका दुई सय सहकारीहरु प्रकृयामा रहेकामा ४४ वटाले यस वर्ष प्रतिस्पर्धा गर्दा ३४ वटा सफल भएको नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले बताउनु भयो । भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम, संस्थाको जगेडा कोष कूल पुँजीको ५ प्रतिशतभन्दा बढी भएको, व्यवस्थापन खर्च कूल आम्दानीको ५ प्रतिशतभन्दा बढी नगर्ने, कूल पुँजीको १० प्रतिशत तरलता अनिवार्य भएको, एक वर्षभन्दा बढी भाखा नाघेको ऋणलाई शतप्रतिशत डुबन्त कोषमा राखेको लगायत ५१ वटा सूचकहरु पालना गरेका उत्कृष्ट सहकारीहरुले मात्रै यो ब्राण्ड पाउने नेफ्स्कुनका अध्यक्ष बस्नेतले जानकारी दिर्नु भयो ।

‘प्रोबेशन ब्राण्ड पाउन सहकारीको कारोबार सहितको प्रतिवेदन हरेक महिना सहकारी विभाग र नेफ्स्कुनमा पठाएको हुनुपर्छ, लगातार दुई महिना मासिक प्रतिवेदन नबुझाउने सहकारीहरु ब्राण्ड पाउने प्रतिस्पर्धामा योग्य हुँदैनन ।‘हरेक वर्ष निर्धारित ५१ वटा सूचकहरुमा उत्तीर्ण भएमात्रै प्रोबेशन ब्राण्डको नवीकरण हुन्छ अन्यथा अघिल्लो वर्ष पाएको ब्राण्ड पनि खोसिन्छ ।’

प्रोबेशन ब्राण्ड पाउनेमा प्रदेशगत हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि छ । प्रोबेशन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देही देवदहको कोलिय(देवदह, तिलोत्तमा शंकरनगरको सामूहिक विकास र कोटिहवाको जनउत्थान साकोस छन् ।

यस्तै गुल्मीको लेकाली स्वावलम्वन, नवलपरासी पश्चिमका लुम्बिनी र सयपत्री, दाङका महाप्रभु र हरियाली, प्यूठानको फूलबारी, बर्दियाका सिको र हाम्रो मध्यवर्ती तथा कपिलवस्तुको सिनर्जी साकोस रहेका छन् ।

यही पुस २ गते बुधवार निर्णय भएको प्रोबेशन ब्राण्डको प्रमाणपत्र पुस ४ गते काठमाडौंमा हुने नेफ्स्कुनको केन्द्रीय साधारणसभामा वितरण गरिने भएको छ । यो ब्राण्ड पाउन पुँजीको आधारमा वर्ष दिनमा ५ करोडसम्म कारोबार गर्ने साकोसले ७५ हजार, ५ करोडदेखि १० करोड कारोबार गर्नेले एक लाख र १० करोड माथि पुँजी भएको सहकारीले एक लाख ५० हजार शुल्क बुझाउनुपर्ने नियम छ । यो ब्राण्ड पाउने सहकारी शेयर सदस्य र बचतकर्ताहरुको विश्वासिलो र भरपर्दो रोजाइमा पर्ने सामूहिक विकास साकोसका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले बताउनु भयो ।