२२ वर्षीय युवकद्वारा एकै रातमा तीन महिला बलात्कृत

0
Shares

न्युज अफ नेपाल, रुकुमपश्चिम ।

एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी रहेको रुकुमपश्चिम प्रहरीले जनाएको छ । आरसीले गत मंसिर २७ गते राति गाउँका तीन जना महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए ।

प्रहरीका अनुसार आरसीले श्रीमान् घरबाहिर भएको मौका छोपी मध्यरातमा ४० वर्षीया एक महिला र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । सोही राति २ बजेको समयमा आरसीले फेरी घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई पनि जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

आरसीले पहिला दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर सुतिरहेकी महिलालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । ढोकामा रहेको सानो प्वालबाट हात छिराइ खुटी निकालेर महिलाको बलात्कार गरेको आरसीले प्रहरीलाई बताए । बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले दिएको उजुरीमा बताइएको छ। तीनै जना पीडितले प्रहरी कार्यालय रुकुममा उजुरी दर्ता गराएका छन् ।

आरसीलाई मंसिर ३० गते राडी बजारमा लुकीछुपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।