दोर्दीका किसानलाई मौरीपालन तालिम

0
Shares

शिक्षा पन्त, लमजुङ ।

दोर्दी गाउँपालिकाका किसानलाई व्यवसायिक मौरीपालन तालिम दिइएको छ । विपन्न, दलित समुदायका व्यक्तिलाई प्राथमिकतामा राखेर नौथर शेरामा ६ दिनसम्म व्यवसायिक मौरीपालन तालिम प्रदान गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाइँले बताउनुभयो ।

दीगो कृषिका लागि युवा नामक संस्थाको आयोजना र कृषि विकास शाखा, दोर्दी गाउँपालिकाको सहयोगमा तालिम संचालन गरिएको उहाँले बताउनुभयो । मंगलबारबाट सुरु भएको तालिममा २७ जना किसान सहभागी थिए । तालिमको आइतबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । दिगो कृषिका लागि युवाका अध्यक्ष कुमुद किशोर कोइरालाको अध्यक्षतामा भएको थियो ।

समापन कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारेर व्यवसायिक मौरीपालनमा लागि आफ्नो आयस्तर बढाउन तर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले आफूले सिकेका सीप व्यवहारमा उतारी आर्यआर्जन बृद्धि गर्न आग्रह गर्नुभयो । आम्दानीको स्रोत खोज्दै विदेश पलाएन हुने अवस्था अन्त्य होस् भन्ने उद्देश्यले पनि व्यवसायिक तालिम आयोजना गरेको उहाँले बताउनुभयो ।

६ दिनसम्म सहभागीलाई कृषिशाखा प्रमुख सेढाइँ, कैलाश थापा र दीपक खनालले मौरीपालन सम्वन्धी तौरतरिका, यसको व्यवस्थापन, मौरीका फाइदा, बजार अवस्था, रोगकिरा र नियन्त्रणका उपायबारे सैद्धान्तिक र प्रयोगात्मक तवरबाट सिकाउनुभएको थियो । दिगो विकासका लागि युवाका उपाध्यक्ष प्रभा अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो । समापन कार्यक्रमको संचालन सचिव दिवस भुगाईले गर्नुभएको थियो ।