अपहरणमा परेका युवकको सकुशल उद्दार, घटनामा संलग्न एक पक्राउ ४ फरार

0
Shares

न्युज अफ नेपाल, मकवानपुर ।

अपहरणमा परेका काठमाडौं टोखा नगरपालिका ३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ५ घर भएका २१ वर्षीय नरेश थापा मगरलाई बुधबार दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा ५ जना हेटौंडा उपमहानगरपालिका ९ लामसुरेबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका ६ बस्ने २४ वर्षीय किसन गुरुङ, सोही ठाउँ बस्ने २९ वर्षीय आशिक लामा, काठमाडौं महानगरपालिका ३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका ६ बस्ने २९ वर्षीया सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।

बुधबार बिहान अमलेखगंजबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेका थिए । त्यस्तै, काठमाडौं महानगरपालिका ४ बस्ने काभ्रे मंडल देवपुर नगरपालिका ९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई कुटपिट गरेको थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरी टालीले मगरलाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो ।

साथै अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सीसहित पक्राउ गरेको छ । उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य ४ जनाको भने खाजी कार्य भइरहेको प्रहरीले बताएको छ ।