भक्तपुर र धुलिखेलमा चाइल्ड प्रोटेक्सन तालिम


नेपाल पेडियाट्रिीक सोसाइटी (नेपास) र पेडियाट्रिीक नर्सिङ एसोसियसन (पिनान)को आयोजनामा भक्तपुर र धुलिखेल अस्पतालका बाल विभागमा कार्यरत बाल रोगसम्बन्धी चिकित्सक र नर्सका लागि एक दिने चाइल्ड प्रोटेक्सन, रिकग्निसन एन्ड रेसपोन्स् (सीपीआरआर) तालिम सम्पन्न भएको छ।

सो द चाइल्ड मे लिभ यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेको सहयोगमा भक्तपुरस्थित सिद्धि स्मृति बाल तथा महिला अस्पताल र काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पताल धुलिखेलमा उक्त तालिम दिइएको हो।

भक्तपुरमा दिइएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा कार्यरत २४ जना चिकित्सक तथा नर्सहरू सहभागी थिए। सो तालिममा नेपाल तथा संयुक्त अधिराज्य (यूके)मा कार्यरत चिकित्सक तथा नर्सद्वारा सहजीकरण गरिएको थियो।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा दिइएको तालिममा सो अस्पतालको बाल विभागमा कार्यरत चिकित्सक, नर्स तथा बाल स्वास्थ्यसम्बन्धी पोस्ट ग्राजुएट तहमा अध्ययनरत चिकित्सक तथा नर्स गरी ३१ जनाको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण गर्ने नेपाल पेडियाट्रिक सोसाइटीका चिकित्सक डा. रामहरि चाँपागार्इंले जानकारी दिएअनुसार एकदिने तालिममा सम्बन्धित डाक्टर तथा नर्सलाई बाल अधिकार तथा बाल सरोकारका विभिन्न पक्ष, नेपालमा भएका विद्यमान कानुनहरू, बालबालिकामा हुने विभिन्न हिंसा, दुव्र्यवहार तथा विभिन्न मानसिक तथा शारीरिक चोटपटक पत्ता लगाउने तरिका तथा सोको रोकथामका लागि नेपालको विद्यमान व्यवस्थाका बारेमा जानकारी गराइएको थियो।

यो तालिममा संयुक्त अधिराज्य (यूके)को अनुभवसमेत आदान प्रदान भएको यूकेमा कार्यरत बालरोग विशेषज्ञ डा. जमुना आचार्यले बताउनुभयो। बाल अधिकारको विश्वव्यापी अवधारणा र विभिन्न अभिसन्धिमा नेपालपक्ष रहेको तथा नेपालमा समेत विभिन्न संवैधानिक एवं कानुनी बन्दोवस्त भइसकेको परिप्रेक्ष्यमा बालबालिकाको बृहत्तर संरक्षणका लागि बालबालिकामा समर्पित चिकित्सक तथा नर्सहरूको क्षमता अभिवृद्वि कार्यक्रमलाई सबै प्रदेशमा सञ्चालन गर्न प्रयासरत रहेको नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले जनाएको छ।