भारतद्वारा जारी नक्सा तुरुन्त सच्याउन माग गर्दै समाजद्धारा धर्ना



अमृत अर्याल, स्याङजा ।

संयुक्त राष्ट्र संघको महासभाद्वारा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र पारित भएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा नै डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउने गरिन्छ ।

यसैक्रममा भारतद्धारा अतिक्रमित नक्सा सच्चाउ भन्ने आग्रह साथ मानव अधिकार तथा शान्ति समाज स्याङजाले जिल्ला प्रशासन कार्यालय स्याङजाको प्रवेशद्धारमा धर्ना दिएको छ । डिसेम्बर १० अर्थात ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पारेर समाजले भारतद्वारा अतिक्रमित नेपाली भूभाग बिरुद्ध धर्ना प्रदर्शन गरेको हो । भारत : ‘हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता ’गर भन्ने आग्रहसहित प्रशासन कार्यालयको मुख्य ढोकामा बसेर धर्ना प्रदर्शन गरिएको हो ।

नेपाली भूमि भारतीय सरकारले आफनो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेपछि स्याङजाका मानवअधिकारकर्मीले आपत्ती जनाउदै तत्काल विवादित नक्सा सच्चाउनु पर्ने माग गर्दै धर्ना दिएका हुन ।

इतिहासदेखि नेपाल र भारत दुई छिमेकी मुलुक मात्र नभई एकअर्काबीच सुमधुर सम्बन्ध रहेको देश भएको जनाउदै तीनतर्फ भारतीय सीमा कायम छ । उत्तरतर्फ रहेको बिशाल मुलुक चीन र अन्यतर्फ भारतसंगको सीमामा कुनै तारवार नभई सीमा रेखा कायम भएको अवस्थामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेकोमा समाजले बिरोध जनाउदै धर्ना दिएको समाजका सभापति प्रकाश डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्