प्रदेश १ को खोला सफाई अभियान सिंघियाबाट सुरु (फोटोफिचर)

0
Shares

सरोज यादव, विराटनगर । 

‘सिंघीया खोलाको सफाई अभियान हामी सबैको शान’ भन्ने नाराका साथ प्रदेश १ सरकारको अगुवाईमा सिंघीया सफाई महाअभियान सुरु भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजकन तथा विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासहित ५ स्थानीय तहको सहकार्यमा शनिबार देखि सो अभियान सुरु गरिएको हो ।

विराटनगर–३ पुष्पलाल चौकस्थित घिनाघाटबाट सुरु भएको अभियानको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कटहरी गाउँपालिकाका मेयर रामकुमार कामतलगायतले खोलाको फोहोर संकलन गरेर थालनी गरेका छन । सफाई अभियानमा विभिन्न संघसंस्था, नेपाल प्रहरी, नेपाल आर्मी, राजनीतिज्ञ तथा स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।अभियानको पहिलो दिन शनिबार घिनाघाटदेखि बुद्धचोक निस्कने बाटोसम्म करिब डेढ किलोमिटर सरसफाई गरिएको छ ।

सरसफाई पछि बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले यसअघि जति फोहोर फ्याँकियो त्यसप्रति पश्चाताप गर्दै अगामी दिनमा फोहोर नफ्याँक्न अनुरोध गर्नुभयो । सबैले आफ्नो वरपरको खोला, नदी सरसफाई गर्दै सुन्दर र सफा प्रदेश बनाउन प्रदेशबासी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले तटबन्ध निर्माण, ग्रीनबेल्ट लगायतका कुराहरुलाई पनि आगामी दिनमा योजना बनाएर जाने बताउनुभयो । मन्त्री घिमिरेले अत्यधिक प्रदूषण बढेपछि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्मको १० किलोमिटर क्षेत्र सफाई गरिने जानकारी दिनुभयो । सफाईका हिसावमा प्रदेशमा जागरण ल्याउन लागिएको उहाँको भनाइ छ । खोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानका लागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नापजाँच समिति बनाइएको छ ।

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले अभियानका लागि विभिन्न समिति बनेको जानकारी दिँदै यो अभियानलाई कसरी दीर्घकालीनरुपमा लिएर जाने भन्ने बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । सरसफाईमा सहभागिहरुले जागरण ल्याउने यो अभियान एकदमै राम्रो भएको र आगामि दिनमा योजना बनाएर दीर्घकालिनरुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन । हरेक १५ दिनमा सञ्चालन गर्ने सरसफाई अभियान अब आगामी पुस ५ गते हुनेछ । सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गरेको छ ।

महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराएको छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने छ । कटहरी गाउँपालिकाले दुई सय जोर गम्बुट, छ सय जोर पञ्जा, बूढीगंगाले ६५ जोर गम्बुट, जहदाले ५० वटा फोहोर तान्ने काँटा र ग्रामथान गाउँपालिकाले ६५ जोर फोहोर तान्ने काँटाको व्यवस्थापन गरेको छ ।