महिला हिंसामा उजुरी: कारवाही शुरु भएपछि पीडित बेपत्ता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

लैङ्गिक हिंसा विरुद्ध अभियान चलिरहेको छ तर महिलाहरुविरुद्ध हुने हिंसाका घटना बढिरहेका छन् । हिंसा भएका उजुरी प्रहरीकोमा दर्ता हुन्छन तर परिवार तथा आफन्तको दबावमा उजुरी पछि कारवाहीको प्रकृया शुरु हुँदा महिलाहरु फर्केर आउँदैनन ।

घरेलु हिसांमा उजुरी गर्ने महिलाहरु उजुरी पछि सम्पर्कमै आउन छाडेका छन् । पारिवारिक दवाव तथा अन्य कारणले उजुरी दिएर सम्पर्कमै नआउने महिलाहरुको संख्या बर्षेनी थपिदै गएको छ । घरेलु हिंसामा उजुरी दिएका मध्ये केहि उजुरी मुद्दाका रुपमा दर्ता समेत हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको त्रि–बर्षिय तथ्याकंका आधारमा उजुरी दिने र उजुरी पछि सम्पर्कमा नआउने महिलाहरुको संख्या बढेको छ ।

आर्थिक वर्ष २०७३/२०७४ मा २ सय ५३ उजुरी परेका मध्ये १ सय ८८ वटा प्रहरी कार्यालयमा मिलापत्र भएका छन् भने २३ वटा अदालत पठाईएको छ । ४२ वटा उजुरीका पीडितहरु प्रहरीको सम्पर्कमै आएनन् । घरेलु हिंसामा दर्ता भएका ४ वटा मुद्धा मध्ये २ वटामा मिलापत्र भएको थियो भने २ वटा मुद्दा अदालतमा पेश गरिएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा २ सय ३० वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका मध्ये १ सय १५ वटा उजुरीमा मिलापत्र भएको छ । २० वटा अदालत पठाईएको थियो भने ९५ वटा उजुरीका महिलाहरु सम्पर्कमै आएनन् । सोहि वर्ष १३ वटा मुद्दा घरेलु हिंसामा दर्ता भए । ७ वटा मिलापत्र भएको थियो भने ४ वटा अदालतमा पेश गरिएको थियो । एउटा मुद्दा बहुविवाहमा दर्ता भयो । एक पीडक फरार भएकाले सक्कलै मिसिल अदालत बुझाईएको महिला सेल प्रमुख सई सिता श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै आर्थिक वर्ष २०७५/२०७६ मा उजुरीको संख्या २ सय ३४ पुग्यो । प्रहरी कार्यालयमा १ सय १७ वटा उजुरीमा मिलापत्र भएको थियो भने १५ वटा उजुरीलाई अदालतमा पठाईएको थियो । ९३ जना उजुरी गरेर पनि सम्पर्कमा आएनन् । २०७५/२०७६ मा घरेलु हिंसा मुद्धा दर्ता भएनन् । स्थानीय सरकारमा गठन भएका न्यायिक समितिहरुमा अधिकांश महिला हिंसा सम्वन्धी उजुरीहरु दर्ता भएका छन् । ति मध्ये अधिकांश मिलापत्र गरेर पठाईएको छ भने केहि साँध सिमाना र अन्य विषयका उजुरीहरु दर्ता भएका छन् । न्यायिक समितिका संयोजकहरुले न्यायालयमा जस्तै दुई पक्षिय छलफल मार्फत उजुरीको समाधान गर्दै आएका छन् । आर्थिक वर्षको २०७६/२०७७ को कार्तिकसम्म ८४ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये ४६ वटा मिलापत्र भईसकेका छन् भने ७ वटालाई अदालत पठाईएको छ । ३० वटाको काम बाँकी छ ।

तीन वर्षमा जर्बजस्तिकरणी, जर्बजस्तिकरणी उद्योग, आत्महत्या, बहुविवाह, कर्तब्य ज्यान, अपहरण तथा जर्बजस्तिकरणी, बोक्सिको आरोप, बाल विवाह र लागु औषधसँग सम्वन्धीत घटनामा महिलाहरु पीडित हुने गरेको र प्रत्यक्ष संलग्नता रहने गरेको देखिएको छ । हराउने महिला तथा बालबालिकाहरुको संख्या पनि त्यतिकै छ । हराएको निवेदन दिने तर फेला परेको निवेदन नदिने कारण महिलाहरुको संख्या हराएकोमा धेरै देखिएको छ । तीन वर्षको बीचमा हराएको जानकारी दिएका महिला तथा बालबालिकाहरुको सख्या ५ सय ३७ पुगेको छ । चालु वर्षको कार्तिकसम्म ६९ जनाको निवेदन परिसकेको छ । ३ सय ७४ जना फेला परेको जानकारी प्राप्त भएको छ भने १ सय ७० जना अझै फेला पर्न बाँकी छन् । तीन वर्ष अघि हराएका २३ जनाको बारेमा अझै प्रहरीमा जानकारी छैन ।