लिपुलेकमा अनसन बस्न गएका बस्यालको हेलिकप्टर मार्फत उद्दार

0
Shares

किरन धामी, दार्चुला ।

मंसिर १३ गते जिल्ला सदरमुकाम खलंगाबाट लिपुलेक अनसन बस्न गएका काठमाण्डौँका केएन बस्याललाई ब्याँस गाउँपालिका वडा नम्बर १ गागाबाट हेलिकप्टर मार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । भारतले नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरे संगै बस्याल भुमी फिर्ताको माग राख्दै अनसन बस्न लिपुलेक गएका थिए ।

काठमाण्डौँबाटै अनसन बसेर आएका बस्याल नेपालकै बाटो भएर लिपुलेक सम्म जान खलंगाबाट मंसिर १३ गते ब्याँस गाउँपालिका तर्फ गएका थिए । खलंगाबाट ५ दिन पछि ब्याँस गाउँपालिकाको गागामा पुगेका बस्यालको स्वास्थ्यमा समस्या देखिए पछि शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो । बस्यालको (नाइन एन एकेजी) हेलि एभरेष्टको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । सोही हेलिकप्टर मार्फत एक जना रसियन नागरिको समेत उद्धार गरिएको छ ।

मंसिर ११ गते खलंगाबाट अपिनाम्पा संरक्षण क्षेत्र घुम्न गएका रसियन नागरिक ओलेगबर टुलभलाई पनि ब्याँसको गागाबाटै उद्धार गरिएको हो । टुलभ बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौँ लगिएको छ, भने अनसन बस्न गएका केएन बस्यालको जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परिक्षण गरिएको छ । मंसिर १३ गते केएन बस्याल, रमित बलामी र सेफर्ड लिम्बु भारतले मिचेको भुमी फिर्ताको माग राख्दै लिपुलेकमा अनसन बस्न गएका थिए ।

केहि दिन अघि भएका वर्षा संगै ब्याँस गाउँपालिकाको वडा नम्बर १ तिंकर र छाङ्गरु गाउँमा भारी हिमपात भए पछि उनिहरु लिपुलेक जान नसकी गागामा बसेका थिए । बस्याल अनसनमा बसेको आज १४ दिन विती सकेको छ । बस्यालले काठमाण्डौँ गएर प्रधानमन्त्रिलाई ज्ञापन बुझाए पछि मात्रै अनसन तोड्ने बताउनु भएको छ ।