कामपाले दुई दिन महानगर दिवस मनाउँदै


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरले मंसिर २८ र २९ गते २ दिने कार्यक्रम आयोजना गर्ने भएको छ । स्थापनाको २५ औं बार्षिकोत्सब आसरमा महानगर दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले आयोजना गर्ने २ दिनका कार्यक्रमका अतिरिक्त वडा स्तरमा आयोजना हुने कार्यक्रमलाई सहयोग गरिने बताउनुभयो ।

महानगरबासी हुनुको गौरव स्थानीयमा अनुभूत गराउन र इच्छुक सबैलाई सहभागी गराउन यस बर्षको कार्यक्रम बसन्तपुरमा आयोजना हुनेछ, मेयर शाक्यले जानकारी दिनुभयो । सो अवसरमा महानगरले तालिम दिएका साना उद्यमीले तयार पारेका समाग्री प्रदर्शन हुनेछन् । सोही अवसरमा मौलिक खानाका स्टलहरु मूल समारोह समितिले जनाएको छ ।

बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दिवसका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाद्यबादन तथा प्रदर्शनीमा सिङ्गो महानगर क्षेत्रको सहभागिता हुने अपेक्षा गर्नुभयो । दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं शुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

बैठकमा आफ्नो उपसमितिले गरेको तयारीका बारेमा जानकारी दिँदै व्यवस्थापन उपसमितिका संयोजक महर्जनले ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवःद्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरुलाई सम्मान गरिने तयारी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बसन्तपुरमा आयोजना हुने कार्यक्रममा महानगरले तयार पारेका सहरी पूर्वाधार,संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्विर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ । बैठकमा बोल्दै करदाता तथा कर्मचारी सम्मान उपसमितिका संयोजक पराजुलीले यसपटक व्यक्तिगत रुपमा नियमित कर तिर्ने करदातालाई प्राथमिकता साथ खोजि गरिरहेको जानकारी दिनुभयो ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस बर्ष २५ बर्ष भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पिएल सिंहलाई सम्मान गर्ने महानगरको योजना छ । गएको बर्ष काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।