गौरिकाले दिलाइन् ऐतिहासिक स्वर्ण


कविरस शर्मा, काठमाडौं ।
ओलम्पिकका सबैभन्दा कान्छी खेलाडीबाट परिचित नेपाली पौडीबाज गौरिका सिंहले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन्।
बिहीबार सातदोबाटोस्थित पौडीपोखरीमा गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। यो सँगै जलपरी गौरिकाले सागको पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रच्न सफल भइन्।

गौरिकाले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गरेकी हुन्। भारतकी शिवांगी शर्माले २ मिनेट ७.१९ सेकेन्डको समय निकाल्दै रजत पदक जितिन्। बंगलादेशकी जुनायाना अहमदले २ मिनेट १२.८३ सेकेन्डमा पुरा गर्दै कांस्य जितिन्।

साथै गौरिकाले सो विधामा नयाँ राष्ट्रिय कीर्तिमान समेत निर्धारण गरेकी छन। उनले गत वर्ष सम्पन्न २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा सो स्पर्धामा २ मिनेट ०९.१९ सेकेण्डको समय लिएकी थिईन्। त्यस्तै सागको अघिल्लो संस्करणमा उनी रजत र काश्यमा सीमित भएकी थिइन्।

यसअघि नेपालले १९९९ मा नेपालमै आयोजना भएको आठौं सागको पौडीतर्फ टिम इभेन्ट्समा स्वर्ण जितेको थियो। स्वर्ण पदक जित्ने उक्त टोलीमा नयना शाक्य, रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंह थिए। ४ गुणा १ सय मिटरको मेड्ली रिलेबाट स्वर्ण जित्दा नेपाली टोलीले तेस्रो स्थान हात पारेको थियो। तर पहिलो र दोस्रो स्थान हात पारेको दुवै टोली अयोग्य भएपछि नेपाल भाग्यमानी बन्दै स्वर्णको हकदार बनेको थियो।

यसैगरी सन् २०१६ को रियो ओलम्पिकमा उक्त संस्करणको कान्छी ओलम्पियन भएपछि चर्चाको शिखरमा पुगेकी उनले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दै इतिहास रचिन्।

जारी सागमा ८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेकी गौरिकाले खुशी हुँदै भनिन् -विदेशमा बसेकोले धेरैले मलाई विदेशी भन्ने गरेकोले दुःख लाग्छ। यो मेरो स्वर्ण नेपालका लागि हो।

बिहीबारै सम्पन्न २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा १२ वर्षीय डुआना लामाले भने रजत पदक जितेकी छन्। डुआनाले राष्ट्रिय कीर्तिमानसमेत कायम गर्दै नेपाललाई रजत पदक दिलाएकी हुन्। डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दूरी पुरा गरिन्। उनीभन्दा अगाडि भारतकी अपेक्षा फर्नान्डेसले २ घण्टा ३८.०५ सेकेन्डमा निर्धारित दूरी पुरा गरेकी थिइन्। त्यसअघि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भ· गर्दै फाइनलमा स्थान बनाएकी हुन््। उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै बिहीबार २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गरिन्।