नीतिभन्दा शक्ति र सत्ता प्रधान देखियो



राजनीतिमा मिसन केन्द्रित राजनीति सत्ता र शक्ति केन्द्रित राजनीतिमा रुपान्तरणका क्रममा नीतिभन्दा शक्ति र सत्ता प्रधान भयो। नेपाल राजतन्त्रबाट संवैधानिक राजतन्त्र र गणतन्त्रमा आइपुग्दा पनि राजनीतिक संस्कार र चरित्रमा खासै परिवर्तन भएन।

राजनीतिज्ञको आफ्नो परिवार र आफूनिकटलाई संरक्षण दिने चरित्र परिवर्तन हुन सकेन। अहिले धेरैजसो ठूला नेतामा परिवारका सदस्य, प्रभावशाली व्यापारी र उनीहरूका विश्वासपात्र छानिएका छन्।

राजनीतिमा भएको अधिक दलीयकरणका कारण दलका नेता/कार्यकर्ताले गल्ती गर्दा पनि ढाकछोप गर्ने प्रचलन बसेको छ। न्यायालय र प्रहरी प्रशासनमा समेत दलीयकरणको प्रभाव परेकोले भ्रष्टाचार, अपराध र विकृति बढेको छ।

लोकतन्त्र आत्मनियन्त्रित संस्कार हो। निर्वाचन नागरिकलाई शिक्षित, जागरूक र जिम्मेवार बनाउन शिक्षा दिने विश्वविद्यालय हो। आवधिक निर्वाचनले मतदातालाई विगतका जनप्रतिनिधिलाई पुरस्कृत वा दण्डित गर्ने अवसर दिन्छ। के विगतमा हामीले अभ्यास गरेका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित भए त ?

यो अहम् सवाल हो। निर्वाचनको क्रममा भोगिएको यथार्थले पद्धतिको औचित्य र विश्वासलाई सिद्ध गर्छ। राजनीतिमा कसरी टिक्न सकिन्छ, कसरी टिकट पाइन्छ, चुनाव कसरी जितिन्छ भन्ने मनोविज्ञान छ।

प्रत्यासी बन्न आफ्नै दलबाट टिकट किन्नुपर्ने र अन्त्यमा मतदातालाई तिनका ठेकेदारमार्फत किन्नुपर्ने अवस्था छ। यसरी खर्चिएको रकमको स्रोत के हो ? कुनै पनि दलले खोज्दैनन्।

दलभित्रको आन्तरिक लोकतन्त्रको अवस्था कमजोर छ। खर्च गरेर टिकट लिने र जित्नेहरू आफूले परिचालन गरेको स्रोतमाथि आफ्नो एकलौटी स्वामित्व भएको ठान्ने आममनोविज्ञान छ। निर्वाचन प्रक्रियालाई कानुनी अभ्यासबाट नैतिक अभ्यासका रुपमा कसरी अनुवाद गर्ने ? अहिलेको चुनौती हो।

मतदाताको विवेकलाई प्रभावित गर्ने जुनसुकै हतकण्डाबाट चुनावी हिस्सालाई कसरी कम गर्ने ? त्यसतर्फ आत्मनियन्त्रणको प्रयत्न भएन भने निर्वाचनमार्फत संस्थागत हुँदै गएको विसंगतिले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा गर्छ।

अहिलेको निर्वाचनले संविधानलाई संस्थागत गर्न एक कदम फड्को मारे पनि खर्चिलो चुनावले लोकतन्त्रलाई कमजोर र मुलुकलाई नयाँ खाले द्वन्द्वतर्फ फर्काउन सक्छ। तसर्थ, स्वच्छ निर्वाचन नै अहिलेका बेथितिहरूको अचुक औषधि हो।

राजनीति सधैँ स्थिर रहँदैन। अहिले मुलुकमा सत्ताको शिखरमा रहेका व्यक्तिबीचमा द्वन्द्वको आन्तरिक स्रोत भएजस्तै भारतसँगको सम्बन्धको उतारचढाव नै अनिश्चितताको बाह्य कारक हो। त्यसै कारण, नेपालमा पटकपटक नयाँ समूहलाई मौका मिलेको छ।

नेपालमा भ्रष्टाचारले सीमा नाघिसकेको छ। यदि ठूला माछा पर्यो भने लहरो तान्दा पहरो गर्जने अवस्था आउँछ। कुनै एक दल विशेषको नेतामात्रै नपरेर अन्य दलका ठूला माछा पनि पर्ने अवस्था आयो भने त्यसमा फेरि चलखेल हुन्छ।

सुडान काण्ड र वाइडबडी काण्ड एकभन्दा बढी ठूला दलका ठूला माछा पर्ने डरले सामसुम बनाइएका काण्ड हुन्। वाइडबडी काण्डमा अनियमितता भएको संसदीय उपसमितिको ठम्याइपछि कार्यपालिकाले नै छानबिन गर्ने भनी सामसुम बनाइएको त्यसै कारण हो। राजनीतिमा दलीयकरणको जरो यस्तै प्रकारले बढिरहेको छ।

– प्रतीक अर्याल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्