सामाजिक सञ्जाललाई शोख बनाउने कि लत ?



सामाजिक सञ्जाल समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयासका खातिर सिर्जित प्रविधिको विकसित रूप हो। जसको फरक–फरक स्वरूपमा आएका फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई अधिकले स्वतस्फूर्त आत्मसात् गरे।

आंशिकले बाध्यकारीरूपमा स्वीकार गरे। तर सामाजिक सञ्जालमाथि अहिले बहस तीव्र छ। यसमा जोखिम बढी छ कि अवसर ? सदुपयोग ज्यादा भइरहेको छ कि दुरूपयोग ? सामाजिक सञ्जाललाई शोख बनाउने कि लत ? सहयोगी बनाउने कि दुर्घटनाहरूको सहज अस्त्र ?

यी यावत् विषयका बारेमा प्रश्न र छलफल जरुर भएको छ। सामाजिक सञ्जाल मानिसहरूको विश्वासिलो र भपरर्दो साथी बनेको छ। मानिसले मानिसलाई गर्ने विश्वास घटेको छ। तर मानिसलाई कम विश्वास गर्न थालेको मानिसले सामाजिक सञ्जाललाई बढी विश्वास र प्रेम गर्न थालेको छ।

कसैलाई भन्न नसक्ने र भन्न मन नलागेका आन्तरिक कुराहरू पनि फेसबुकलगायतमा शेयर गर्छन्। आफ्ना अन्तरमनका भावना सामाजिक सञ्जालमा पोख्छन्। एक्लै हुँदा पनि फेसबुकले एक्लोपनको आभास हुन दिँदैन आजकाल। जीवनका सुखद क्षण या दुःखद पल। ती सबै साथी बनेर बाँड्ने ठाउँ बनेको छ सामाजिक सञ्जाल।

यति मात्र होइन, यो सञ्जाल ठूला–ठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँको रूपमा विकास भइरहेको छ। सूचनाको स्रोत पनि यही बनेको छ। अर्कोतर्फ कसैलाई रिस र कुण्ठा पोख्ने माध्यम पनि बनेको छ। प्रत्यक्ष हाकाहाकी भन्न नसक्ने विषयमा अप्रत्यक्ष सामाजिक सञ्जालबाट तथानाम लेख्न सक्छन्।

कुनै तथ्य, प्रमाणविना कसैको चरित्र हत्या गर्नुपर्यो भने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा लेखिदिनु या बोलिदिनु भएको छ। जसका कारण मानिसले पाइरहेका दुःख, तनाव, सकस, सम्बन्धको दरारमा बढेको पारामिटरका बारेमा शायद धेरै बेखबर छौं।

सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउँछन्, यकिनका साथ भन्न सकिने अवस्था छैन। यकिन भएको एउटै मात्र कुरा के हो भने, मानिसको आचरण र अवस्थाअनुसार मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ।

यद्यपी, सञ्चार प्रविधिको आजको युगमा सामाजिक सञ्जालको मोह थप चुलिँदो छ। एक अध्ययनअनुसार, संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झन्डै ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्दछन्।

हरेक मानिसले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालमा शेयर, लाइक, ट्वीट वा अपलोड र त्यसमा रमाएर समय बिताइरहेका हुन्छन्। हरेक मिनेटमा दशौँ लाख स्टाटस, ट्वीट र फोटो अपलोड हुने गर्छ।

सामाजिक सञ्जालले हाम्रो जीवनमा ओगट्दै गइरहेको हिस्साले हाम्रो मानसिक स्वास्थ्य, रहनसहन, समय र संस्कारमा कति आघात पुर्यारहेको छ भन्ने बारेमा पनि गम्भीरतापूर्वक सोच्न र मनन गर्न जरुरी छ।

सामाजिक सञ्जालले प्रवेश पाएको धेरै भएको छैन। यसकारण पनि यसको प्रभावका परिणामलाई निर्णायक ठान्दा निश्चय हतारो हुन्छ। यद्यपि, यसको अधिक प्रयोगका विषयमा संवेदनशीलता अपनाउनु अत्यन्तै जरुरी छ।

प्रयोग गर्न जान्ने हो भने यो जति काइदाको चिज अरू कुनै छैन। तर यसको दुरूपयोग गर्ने हो भने यसले मानवजीवनमा धेरै हानि पुग्ने काम गर्न नसक्ला भन्न सकिन्न।

– सन्दीप पौडेल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्