जिल्ला समन्वय समिति प्रमुख नेपाललाई वडाअध्यक्षले कुटे


सिताराम अधिकारी, धादिङ ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई नीलकण्ठ नगरपालिका –१ का वडाअध्यक्ष गणेश गुरुङ र नीलकण्ठ नगरपालिका–१ निवासी ध्वजबहादुर गुरुङ कुटपिट गरेका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा मोटरसाइकल लिएर पुगेका दुबैजनाले एक्कासी कुटपिट गरेको र आफूले गुहार लगाएपछि मोटरसाइकलमा भागेको नेपालले ताउनुभयो ।

घटना भएपछि नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना समेत पुगेका थिए । वडाअध्यक्षले मानिस ल्याएर आफूमाथी कुटपिट गरेकोले अपराधीलाई कारबाही गर्न माग गर्नु भएको छ ।

जिल्ला समन्वय समितले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद भएको भएपनि जिसस प्रमुख नेपालसंग यस विषयमा छलफल नै नभइ कुटपिटमा उत्रिएकोले गुण्डा शैली भएको नेपालको भनाइ छ ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना जिल्ला समन्वय समिति स्थित जिसस प्रमुखको कार्यकक्ष बाहिर रहेको बेला कुटपिट भएको थियो । कुटपिट भएपछि मात्र त्यहि भएका ढुंगाना पुगेका थिए । नेपाललाई आक्रमण भइरहँदा एकजना सहयोगिले छुट्याएपछि आक्रमणकारी मोटरसाइकल लिएर भागेका थिए ।

योजनावद्ध रुपमा आक्रमण गरिएकोले आक्रमणकारीलाई कारबाहीको माग गर्दै शनिबार (आज) युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्रपौडेमार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

सामान्य घाइते भएका जिसस प्रमुख नेपालले उपचार गराउनु भएन भने प्रहरीलाई घटनाबारे जानाकारी गराएका छन् । उजुरी नदिएपनि आक्रमणकारीलाई राज्यको निकायले कारबाही गर्ने र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवारले बताउनुभयो ।