श्रीपद्म स्कुलले ९६औं वार्षिकोत्सव मनायो


भक्तपुर, (नेस)।

श्रीपद्म माध्यामिक विद्यालय दरबार क्षेत्र भक्तपुरले आफ्नो ९६औं जन्मोेत्सव तथा पद्म कलेजको दशौं वार्षिकोत्सव समारोेह विशेष कार्यक्रमका साथ मनाउन शुरू गरेको छ।
एक समारोहकाबीच मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान तथा सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा सातौं १२ कक्षास्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख प्रजापति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खेमनाथ पोखरेल, भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवा, विनोदचरण राय, वडाध्यक्ष श्यामकृष्ण खत्री तथा राजकृष्ण गोरा ,व्यवस्थापन समिति अध्यक्ष बाबुराजा जोशीलगायतले विद्यालयको सफलताको कामना गर्नुभयो।

विज्ञान तथा सिभिल इन्जिनियरिङ प्रदर्शनीमा विद्यार्थीले ५० किसिमका प्रस्तुति समेटेका छन्, जसमा इलेक्ट्रिक ल्याब, कारपेन्ट्री ल्याब, सिभिल सर्भिस ल्याब, भोलमिटर, साइन्स इन्नोभेसन समेटिएका छन्।प्रदर्शनी ३ दिनसम्म स्कुल समयमा सञ्चालन हुने र यसमा स्कुलका ६ देखि १२ कक्षासम्मका २ सय विद्यार्थी प्रत्यक्षरूपमा सहभागी भएको स्कुल तथा कलेजका प्राचार्य राम हाडाले बताउनुभयो।

विज्ञान विषय प्रयोगात्मक भएकाले विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित प्रदर्शनीमा विभिन्न प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीको समेत प्रतिभा प्रदर्शन गरिएको छ।
यसैगरी भक्तपुर जिल्लाव्यापी पद्म कप भलिबल प्रतियोगितामा ७ स्कुल सहभागी छन्।

जसमा आयोजक श्रीपद्म मावि, ख्वप, स्प्रिंडेल, आदर्श मावि, सानोठिमी, आदर्श जनपे्रमी, एजे स्कुल र सैनिक स्कुलका समूह सहभागी छन्। पहिलो दिनको प्रतियोगितमा ६ खेलमध्ये दुई खेलमा श्रीपद्म माविले र अर्को दुई खेलमा ए जे स्कुल विजयी भएका छन्। बाँकी २ खेलमा क्रमश स्प्रिंडेल र आदर्श जनप्रेमी विजयी भएका छन्।

प्रतियोगिताको पदक/पुरस्कार वितरण, विविध छात्रवृत्ति वितरण, तथा सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव मंसिर ८ गते सम्पन्न हुने बताइएको छ। विद्यालयले सम्पूर्ण पूर्वविव्यस÷कलेजका अध्यक्ष/सदस्यहरू, पूर्वशिक्षक/कर्मचारी, भूतपूर्व विद्यार्थी, सरकारी तथा गैससका प्रमुख, राजनीतिक दलका प्रमुख, अभिभावक, पत्रकार तथा शुभचिन्तक महानुभावलाई वार्षिकोत्सवमा उपस्थितिको लागि अनुरोध गरेको छ।