मिडिया काउन्सिल विधेयकमाथि छलफल


काठमाडौं, (नेस)।

राष्ट्रिय सभाको विधायन समितिद्वारा गठित उपसमिति र नेपाल पत्रकार महासंघले संसोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा बुधबार गहन छलफल भएको छ।

उपसमितिका सदस्य तथा सांसद ठगेन्द्रप्रकाश पुरीले महासंघको सुझाबलाई गम्भीरताका साथ लिने भन्दै संशोधन बुँदा पास नहुञ्जेलसम्म सरोकारवालाको सुझाब संकलन गर्ने बताउनुभयो।
सांसद हरिचरण शिवाकोटीले कुनै पनि विधेयक पास गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेस जगतको हितमा हुनेगरी उपसमिति प्रयासरत रहेको बताउनुभयो।

कार्यक्रममा सांसद वृषेशचन्द लालले विधेयक ल्याउँदा सम्बन्धित मन्त्रीसँग छलफल गरेर ल्याइएको बताउनुभयो। उहाँले हाल संशोधनमा रहेको नेपाल मिडिया काउन्सिल विधेयक संशोधनमा रहेका बुदाँहरूलाई पत्रकारको हितमा हुनेगरी सुझाब लिएर पूर्णता दिने बताउनुभयो।

कार्यक्रम महासंघको तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संसोधनका लागि ११ बुदे सुझाब प्रस्तुत गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक वर्गको प्रतितिधित्व हुनेगरी निर्माण गरिनुपर्ने सुझाब दिनुभयो। उहाँले काउन्सिललाई शब्दमा भन्दा पनि सम्पूर्ण पत्रकार तथा सञ्चार जगतको हितमा हुनुपर्ने धारणा राख्नुभयो।

केन्द्रीय सदस्य जन्मदेव जैसीले काउन्सिललाई कानुनीरूपमा शक्तिशाली निकायमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो। महासंघका पूर्वउपाध्यक्ष अनिता विन्दुले काउन्सिललाई हरेक वर्ग र क्षेत्रको अपनत्व हुनेगरी समावेश गर्नुपर्ने सुझाब दिनुभयो।