सिलवालको ७२ घण्टे सत्याग्रह पूरा


नेपाल समाचारपत्र, काठमाडौं।

हिन्दू राज्य स्थापनाको माग गर्दै रत्नपार्कको शान्तिवाटिकामा ७२ घन्टे सत्याग्रहमा बस्नुभएका स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले बुधबार सत्याग्रह अन्त्य गर्नुभएको छ।
सिलवाल मंसिर १ गते बिहान ९ बजेबाट सत्याग्रहमा बस्नुभएको थियो। उहाँले देशलाई बचाउन राष्ट्रिय एकताको खाँचो रहेको र राजसंस्थालाई पनि स्थान दिनुपर्ने तर्क गर्नुभएको छ।

पटकपटक सडक संघर्ष गर्दै आएको नागरिक समाजले देशमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध पनि आवाज उठाउँदै आएको छ।यसअघि सभामुख, विभिन्न राजनीतिक दलका नेता र सरोकारवालालाई ज्ञापनपत्र बुझाएर समाजले आफूहरूका माग सम्बोधन नभएर सत्याग्रह बस्ने घोषणा गरेको थियो।

संयोजक सिलवाललाई केशर खड्काले जुस खुवाएर सत्याग्रहको अन्त्य गर्नुभएको थियो। संयोजक सिलवालले संविधानमा त्रुटि भएकाले संविधान संशोधन गरेर जान सकेमात्र देशले सही बाटो लिने समेत बताउनुभयो। उहाँले अर्को चरणको संघर्ष गर्ने पनि जनाउनुभएको छ।

सिलवालले वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्ने दाबी पनि गर्नुभएको छ। ‘अब जनताले अर्को क्रान्ति गर्नुपर्ने बेला आइसकेको छ’, उहाँले भन्नुभयो– ‘सरकार जनताको बन्नुपर्ने हो तर आफैमा अलमल भएकाले यो सरकार जति रह्यो त्यति बेलासम्म जनता आन्दोलित भइरहनुपर्ने अवस्था आउँछ।’