बालुवाटारमा नेकपा सचिवालय बैठक सूरु


न्युज अफ नेपाल काठमाडौं ।

मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएको बैठकले मन्त्री हेरफेरको विषयमा निर्णय लिने चर्चा छ ।

मंगलवार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधवार मन्त्री हेरफेर हुनसक्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीले बुधवार सार्वजनिक कार्यक्रममा सहभागी नहुन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

सचिवालय बैठकअघि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् । सचिवालय सदस्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छैनन् ।