बन्द हुन लागेको विद्यालय यसरी बन्यो नमुना

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । 

जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी संख्याकै कारण छिमेकी विद्यालयमा भागिने ‘मर्ज’ मा जानै लागेको अवस्था थियो। विद्यालयको कार्यालय, कक्षाकोठा देखि पठनपाठन समेत उस्तै अस्तब्यस्त । विद्यालयमा मुलकुरा विद्यार्थी नै थिएनन ।

अहिले विद्यालयले एक बर्षकै अबधीमा धेरै फड्को मारिसकेको छ । बिद्यालय अन्यत्र जाने भएपछि स्थानिय अगुवाहरुले विद्यालयलाई बचाउनको लागि अभियान नै चलाए। अभियानपछि आज त्यही विद्यालय जिल्लाकै उदाहरणीय बन्दै छ। जिल्लाका केही अभियन्ताले ‘गरे सम्भव छ’ भन्ने नारा बोकेर विद्यालयलाई ब्युँताउने अभियानमा लागेकै कारण एक बर्र्षमा नै बिद्यालय जिल्लाकै नमुना मध्ये एक बिद्यालय बनेको छ ।

अहिले विद्यालयमा झन्डै सयजना विद्यार्थी पुगेका छन्। पातलो बस्ती र जन्मदर न्यून रहेको ठाउँमा ‘मर्ज’ हुन लागेको विद्यालयले सयजना विद्यार्थी पाउनु नै उपलब्धि भएको प्रधानाध्यापक ओमकार पौडेलले बताउनुभयो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा अहिले विद्यार्थी र शिक्षकको अनुपात मिलेको छैन। विद्यार्थीको संख्याअनुसार दरबन्दी नहुँदा देउसी खेलेको रकमबाट शिक्षक थप गरेर विद्यालयलाई नमुना बनाउने अभियानमा सम्बन्धित सबै लागेका छन्। गएको तिहारमा खेलेको देउँसीभैलोबाट विद्यालयले साढे १६ लाख रुपैयाँ संकलन गरेको छ। ‘शिक्षकलाई तलब यही रकमबाट पनि खुवाउने छौ,’ उहाँले भन्नुभयो ‘बिद्यार्थीको संख्या बढेपछि दरबन्दी पनि पाउने आश छ ।’

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरले विद्यालयले गति लिएपछि ‘मर्ज’ मा जानुपर्ने अवस्था टरेको जानकारी दिनुभयो । विद्यालयलाई गति दिनको लागि आइसिटीमा आधारित आधुनिक प्रविधिसहित ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने योजना पनि छ । अब तयार पारिने ‘स्मार्ट’ कक्षामा डिजिटल पाठ्यपुस्तकको प्रयोग गर्ने विद्यालयको योजना छ। बाल कक्षादेखि आठ कक्षासम्म चलिरहेको विद्यालयमा अहिले पाँचजना स्थायी शिक्षकको दरबन्दी रहेको छ। विद्यालय २०३५ सालमा स्थापना भए पनि विद्यार्थी अभावले माथिल्लो तहमा स्तर वृद्धि हुन सकेको छैन। पछिल्लो समय विद्यालयमा भएको परिवर्तन विद्यार्थीको अनुशासन, शिक्षकको मिहिनेत र अभिभावकको लगनशीलताको प्रतिफल भएको व्यवस्थापन समितिको दाबी छ।

फलेवास नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुलाई आपसमा गाभेर गाभिएको विद्यालयलाई राम्रो बनाउने अभियान चलाइरहेको थियो। त्यही बीचमा सामाजिक अभियन्ता राजेन्द्र पहाडीले विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर र विद्यालयका प्रधानाध्यापक ओमकार पौडेललाई काउकुती लगाइदिने काम गर्नुभएको थियो । विद्यालय जोगाउन र नमुना बनाउनका लागि गर्न सकिने अभियानका बारेमा जानकारी गराउनुभयो । ‘हेडसर’ नागरिक सम्बन्धमा दक्ष रहेको कुरा थाहा पाएपछि पहाडीले सामाजिक सञ्जाल फेसबुकबाट विद्यालय सुधारका लागि आर्थिक संकलन अभियान चलाउनुभयो ।