नेपाललाई समृद्ध मुलुक कांग्रेसले मात्रै बनाउन सक्छः डा. प्रकाशशरण महत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट«मन्त्री डा. प्रकाशशरण महतले नेपाललाई समृद्ध मुलुक कांग्रेसले मात्रै बनाउन सक्ने बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल ट्रेड युनियन ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डाक्टर महतले यस्तो बताएका हुन् । देश एकाधिकारबाट मुक्त हुनलाई सत्तामा कांग्रेस आउनु पर्ने भएकाले यसपटकको उपनिर्वाचनमा कांग्रेसलाई जिताएर देशलाई एकाधिकारबाट मुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कम्युनिष्टहरु गफाडी र प्रचारमुखि भएको भन्दै प्रचार र गफले मुलुक समृद्धको दिशातर्फ उन्मुख नहुने पनि जिकिर गरे । कांग्रेसीहरु काम गर्ने तर गरेका कामहरुको प्रचार गर्न नजान्ने भएकाले निर्वाचनमा पराजित हुनुपरेको पनि महतले स्वीकार गरे।

सहमहामन्त्री डा महतले तीन नम्बर प्रदेश र सवै प्रदेशका ट्रेड युनियन र भातृ संस्थाहरुलाई कांग्रेस गरेका राम्रा कामको प्रचार गर्न निर्देशन पनि दिए ।

सरकार पुर्ण रुपमा असफल भैसकेको छ, यस्तो असफल सरकारले उठाएका उम्मेदवारहरुले उपनिर्वाचन जिते देश दुर्गति तिर जाने भन्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्नेमा सहमहामन्त्री महतले जोड दिए।