लता मङ्गेश्करको निधनको बारेमा अफवाह फैलिएपछि

0
Shares

नयाँ दिल्ली । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी भारतीय चर्चित गायिका लता मङ्गेश्करको निधनको बारेमा विभिन्न अफवाहरु फैलिएको छ । स्वास्थ्यमा समस्या आएपछि ९० वर्षीय गायिका मङ्गेश्करलाई सोमबार उपचारका लागि मुम्बईको दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पताल’मा पुरर्‍याइएको थियो ।

विभिन्न सञ्चार माध्यमहरुले गलत अफवाह फैलाएपछि मंगेशकरका प्रवक्ताले सबैलाई अफवाहहरूमा कुनै ध्यान नदिन आग्रह गरेका छन् । मंगेशकरको स्वास्थ्य स्थिति राम्रो र स्थिर हुँदै गएको प्रवक्ताले जनाएका छन् । प्रवक्ताले एक विज्ञप्तिमा भने, “लता दीदी स्थिर छिन र अझ राम्रो हुँदैछ। कृपया अनावश्यक अफवाहहरूमा ध्यान नदिनुहोस् र प्रतिक्रिया दिनुहोस् । यस्तै, उनले गलत समाचार प्रवाह गर्नुभन्दा मंगेशकरको स्वास्थ्य अवस्था सुध्रियोस् भनेर प्रार्थना गर्न आग्रह गरेका छन् ।

सोमबार अस्पताल भर्ना गरिएकि मंगेशकरको स्वास्थ्य परीक्षण गरेपछि प्राप्त प्रारम्भीक तथा पहिलो स्वास्थ्य विवरणमा उनको अवस्था गम्भीर देखिएको चिकित्सकहरुले जनाएको भएपनि स्वास्थ्यमा सुधार आएको भन्दै उनलाई सोही दिन नै घर फिर्ता गरिएको थियो ।

लताको स्वास्थ्य उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको छातीमा सङ्क्रमण भएको तर सामान्य उपचारपछि घर फर्काइएको छ । बुढ्यौलीका कारण उनको स्वास्थ्यमा समस्या आउनु स्वभाविक भएको तर उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उनलाई अति सघन कक्ष (आइसियु) मा राखेर उपचार गरिएको चिकित्सकले जनाएका छन् ।