सुत्केरीको दुबै मृगौला फेल, आमा बच्चाको बिचल्ली


दुर्गाप्रसाद शर्मा, पर्वत  ।

आफ्नो पहिलो सन्तानलाई जन्मदिएकी बाह्र दिनकी सुत्केरी महिलाको दुबै मृगौला फेल भएपछि बच्चा र आमाको बिचल्ली भएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ४ की २३ बर्षिया बिशाखा परियारका दुबै मृगौला फेल भएपछि आमा र बच्चाको बिचल्ली भएको छ । न्युन आर्थिक अबस्था भएको परियार परिवारले मृगौला प्रत्यारोपण गर्न र बच्चाको लालनपालन गर्न समेत कठिन भएको छ ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान , पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्तिक १७ गते शल्यक्रिया गर्ने क्रममा दुबै मृगौला फेल भएको पाइएको हो । आमा छोरी दुवैको अवस्था ठिकै थियो। तर शल्यक्रिया गरेको २४ घण्टासम्म अर्थात् कात्तिक १८ गतेसम्म पिसाब नभएपछि भिडियो एक्स–रे गर्दा उहाँको दुबै मृगौला फेल भएको पाइएको जेठानी सबिता परियारले बताउनुभयो ।

‘सुत्केरी भएपछि शरीर र पेट पूरै फुलेको थियो’ सबिताले भन्नुभयो ‘ मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखियो।’ अहिले पनि बिशाखाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसियुमा राखेर उपचार भैरहेको छ ।’

जेठानी सबिताका अनसार एक÷एक दिनको अन्तरमा मिर्गौलाको डायलाइसिस गर्नु परिरहेको छ। उपचारको लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अब कति लाग्ने हो भन्ने निधो छैन। चिकित्सकहरुले कम्तीमा पनि ३ हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन्।

सविताका अनुसार बिसकाको शरीर फुलेकोले नशाहरुमा राम्रोसँग रक्त सञ्चार भइरहेको छैन। शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठिक पार्नुपर्ने छ। रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नशामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ। अझैसम्म पनि बिशाकाको शरीरको पिसाब प्रणालीले काम गरेको छैन। डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प छ। तर मिर्गौला दिनको लागि मान्छे पाउनै पनि समस्या रहेको सबिताले बताउनुभयो ।

कोख चिरेर निकालिएकी पहिलो सन्तान छोरीकै मुख देख्न पाउनुभएको छैन बिसकाले। न त आफैँले जन्माएको छोरीलाई एक थोपा दूध चुसाउन पाउनुभएको छ । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजीन खुवाएर प्राण धानिएको छ। ‘यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, ११ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु।’ सविताले भन्नुभयो ‘जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो। जन्मँदै टुहुरी जस्ती भई।’

आइसियुमा राखिएकी बिसकाका श्रीमान् बिनयले कुस्मा बागलुङ चल्ने बसमा सहचालकको काम गर्नुहुन्छ । बिसकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको अपिल गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ सहयोग माग्नुभएको छ । देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भए पनि सविताले जिल्लाका विभिन्न ठाउँहरुमा सहयोग माग्नु भएको छ ।