भोजपुरमा खोरमा बाँधिएका बाख्रा चटाचट काटिए, दुई जना पक्राउ


न्युज अफ नेपाल, भोजपुर ।

यहाँको पूर्वी अरुण गाउँपालिकास्थित जरायोटारमा केही व्यक्तिले सोमबार राति तीनजना कृषकका खोरमा रहेका बाख्रा काटिदिएका छन्।

अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो । खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि यहाँका स्थानीयबासी त्रसित भएका छन्। बाख्रा काटिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ।

खर्काउनेमा तीनजना किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिएका छन्।

खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि प्रहरी चौकी जरायोटारको टोलीले अनुसन्धान अघि बढाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको बताइएको छ।