दरबारमार्ग काण्डः प्रेमीसँगै सुतेको ठाउँमा सामुहिक बलात्कार, अन्तिममा ५ वर्ष कैद


न्युज अफ नेपाल, काठमाडौं ।

डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले आफू युवतीका प्रेमी हुँ भनेका थिए । तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोगमा अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ ।

भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेकाले उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि  प्रकरण चर्चामा आएको थियो ।

उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो ।

यस्तो थियो घटना

बलात्कृत भनिएकी युवती कैलाली घर भई ललितपुरको झम्सीखेलमा बुबाआमासँगै बस्दै आएकी छिन् । उनी युवती २२ वर्षकी छिन् । कैलालीबाट उपत्यका आएकी युवतीले एकजना रामेछाप स्थायी घर भएका युवकलाई फेसबुकबाटै ‘ब्वाइफ्रेण्ड’ बनाइन् । र, अहिले तिनै ‘ब्वाइफ्रेण्ड’ का साथीहरुले उनलाई सामुहिक बलात्कार गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार करिब ६ महिनाअघि फेसबुकमार्फत उनको रामेछापका शैलेश कार्कीसँग चिनजान भयो । पछिल्लो समय ती युवती र शैलेश ‘प्रेम’मा रहेको र बाक्लो भेट हुने गरेको थियो । शैलेशले यसअघि पनि दरबारमार्गको ल्याण्डमार्क होटलमा ती युवतीलाई लिएर जाने गरेका थिए ।

माघ ११ गते ती युवती भक्तपुरस्थित एक जना साथीको घरमा जान्छु भन्दै बुबाआमासँग विदा मागेर डेराबाट निस्किएकी थिइन् । थाइकट हेयर स्टाइल र खैरो साइनिङ कलर गरेकी उनले घरबाट निस्कँदा नीलो जिन्स पाइन्ट लगाएकी थिइन् । तर, भक्तपुर जाने भनेर डेराबाट हिँडेकी उनी लाजिम्पाट पुगिन् ।

युवतीले दरबारमार्ग बृत्तका प्रहरीलाई दिएको वयानका क्रममा भनेकी छिन्, ‘शुक्रबार मेरो विदा भएकाले साथीकहाँ जाने भनेर निस्किएकी थिएँ, वीचैमा शैलेशले बोलाएपछि उनलाई भेट्न लाजिम्पाट गएँ ।’

युवती र शैलेशवीच भूमि रेष्टुरेन्टमा भेटघाट भयो, जहाँ शैलेशका अन्य साथीहरु पनि थिए । शैलेशले एकजना युवकलाई ‘मेरो भाइ’ भन्दै युवतीसँग चिनजान गराए ।

भूमि रेष्टुरेन्टमा खाजासँगै युवतीले ‘वाइन’ पिइन् । शैलेश र अरु युवाले हार्ड ड्रिंक्स लिए ।

‘वाइन खाएपछि मलाई एकदमै अर्कै फिल भयो, म होसमै थिइनँ’, युवतीले शुक्रबार घटनाको छानविन गर्न पुगेको महानगरीय प्रहरी वृत्तको टोलीसँग भनेकी छिन्, ‘साँझ भइसकेको थियो, त्यसपछि शैलेशले मलाई होटल ल्याण्डमार्कमा लग्यो । म एकदमै बेहोसीमै थिएँ ।’

वाइनमात्र लिँदैमा त्यति धेरै बेहोसी हुनु नपर्ने प्रहरीको अनुमान छ । तर, उनलाई लठ्याउन केही अन्य पदार्थ मिसाइएको थियो कि ? यसबारे अझैसम्म केही पनि खुलेको छैन ।

कोठामा नं. ४०५

होटलका कर्मचारीले प्रहरीलाई दिएको जानकारीअनुसार शैलेश होटल ल्याण्डमार्कका पुराना ग्राहक हुन् । ल्याण्डमार्क होटलमा आउँदा शैलेश र ती युवती अङ्गालोमा बाँधिएर होटलभित्र छिरेको सीसी टीभी क्यामेरामा कैद छ । तथापि, युवती लठ्एिकी हुनाले शैलेशले सहारा दिएका हुन्, या दुबै स्वेच्छापूर्वक अंकमाल गरेर हिँडेका हुन्, स्पष्ट भन्न सकिँदैन ।

बलात्कारको घटना भएको भनिएको दिन अर्थात् माघ ११ गते साँझमा ल्याण्डमार्क होटलमा ड्यूटीमा रहेकी एक कर्मचारीका अनुसार बिहीबारका लागि शैलेशका नाममा कोठा नं। ४०५ र ४०६ बुक भएका थिए । शैलेशका साथी भनिएका दीपक श्रेष्ठका नाममा कोठा नं. १०५ र १०६ बुक थिए । प्रहरीका अनुसार श्रेष्ठ ठमेलका व्यापारी हुन् ।

होटलका कर्मचारीको वयान अनुसार शैलेशको समूह राति करिब साढे ८ बजेतिर होटलमा आयो । उनीहरुले मदिरा पिएको सहजै अनुमान लगाउन सक्ने अवस्था थियो ।

‘दिउँसै कोठा बुक गरिएको थियो । त्यसैले थप केही भन्ने कुरा पनि भएन’, एक जना कर्मचारीले भने । उनका अनुसार त्यसदिन चारवटै कोठामा बसेका व्यक्तिहरु त्यसअघि पनि त्यहाँ आउने र बस्ने गरेका थिए । यद्यपि, युवतीले भने आफू ल्याण्डमार्कमा पहिलोपटक गएको बयान दिएकी छिन् ।

‘ल्याण्डमार्कका स्टाफले भने यसअघि पनि युवतीलाई त्यहाँ शैलेशसँग देखेको बताएका छन्’, एक प्रहरी अधिकारीले भने, ‘ उनीहरुलाई हामीले नै सर्भ गरेका हौं भनेर प्रहरीकै बयानमा समेत कर्मचारीले भनेका छन् ।’

होटल कर्मचारीलाई उधृत गर्दै प्रहरीले गरेको दाबीलाई आधार मान्ने हो भने शैलेश र ती युवती ‘प्रेमजोडी’ नै हुन् भनेर अनुमान लगाउनुपर्ने हुन्छ । घटना भएको रात पनि शैलेश र ती युवती कोठा नं. ४०५ मा एकसाथ बसेको प्रहरी अनुसन्धानले देखाएको छ ।

युवती र शैलेश एउटा रुममा थिए भने अन्य कोठामा शैलेशका साथीहरु थिए । उनीहरुसँग आएका ‘केटी’हरु भने रातमा त्यहाँ नबसेको होटलवालाको बयान छ । र, रातको समयमा शैलेश र युवती बसेको कोठामा थप दुईजना प्रवेश गरेको देखिएको प्रहरी स्रोत बताउँछ । र, यहीँनेर ‘प्रेम’ र ‘बलात्कार’ छुट्याउन प्रहरीलाई हम्मे परेको देखिन्छ ।

प्रेमीसँगै सुतेको ठाउँमा बलात्कार

युवतीले आफू सुतेको कोठामा राति दुई जना प्रवेश गरेपछि बलात्कार गरेको वयान दिएकी छन् । प्रतिकार गर्दै आफू बाथरुममा गएको तर, आफूले छिस्किनी लगाउनुअघि नै एकजनाले जोडले ढोका तानेको उनको वयान छ ।

‘त्यसपछि उनीहरुले मलाई तानेर बेडमा ल्याए’, युवतीले शुक्रबार प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘अनि, कपडा खोलिदिए ।’

युवतीको वयान अनुसार राति एक जना युवकले हात समाते भने अरुले बलात्कार गरे । ‘दिउँसो वाइन खाएपछि एकदमै कमजोर भएको फिल भइरहेको थियो, मलाई त खासै धेरै केही याद पनि छैन’, हाल प्रहरी नियन्त्रणमा रहेकी उनले वयानमा भनेकी छिन्, ‘हातसमेत समातेपछि केही गर्नै सकिनँ ।’

र, यहाँनेर एउटा प्रश्न अहिलेसम्म अनुत्तरित छ, आफ्नी प्रेमिकामाथि बलात्कार हुँदै गर्दा सँगै रहेका भनिएका बलात्कारीका साथी शैलेशचाहिँ कहाँ थिए ? र, उनी के भूमिकामा थिए ?

होटल स्टाफहरुका अनुसार मध्यरातमा युवती बलात्कार भएको घटनाबारे उनीहरुलाई कुनै जानकारी थिएन । युवतीले प्रतिकार गरेको वा सहयोग मागेको पनि उनीहरुलाई थाहा छैन । होटलका एक कर्मचारीका अनुसार बिहान करिब ८ बजे अन्य युवकहरुसँगै युवती पनि सामान्य रुपमै निस्किएकी थिइन् ।

एक कर्मचारी भन्छन्, ‘होटलबाट निस्किएपछि एकजना युवकले उनलाई घर (झम्सीखेल) सम्म पुर्‍याइदिन भन्दै एउटा ट्याक्सीलाई भन्यो र ५ सय रुपैयाँ भाडाका लागि भन्दै दियो ।’ तर, झम्सीखेल हिँडेकी युवती सीधै महानगरीय प्रहरी वृत, कमलपोखरीमा पुगिन् र आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।

तर, घटना भएको भनिएको होटलरहेको क्षेत्र दरबारमार्ग वृत्तले हेर्ने भन्दै कमलपोखरी प्रहरीले उनलाई दरबारमार्गमा पठायो । उनी लगत्तै दरबारमार्ग बृत्तमा आइन् र आफू बलात्कृत भएको उजुरी गरिन् ।

कण्डम र ब्ल्याकलेभल बरामद

लगत्तै दरबारमार्ग बृतका सई चन्द्र भण्डारी नेतृत्वको टोली पीडित युवतीलाई लिएर होटल ल्याण्डमार्क पुग्यो । र, घटनास्थलको मुचुल्का उठायो । त्यसक्रममा सामूहिक बलात्कार भएको भनिएको कोठा नं। ४०५ बाट दुईवटा प्रयोग भएको कन्डमसमेत बरामद भयो । दीपक श्रेष्ठका नाममा बुक गरिएको कोठाबाट प्रहरीले ‘ब्ल्याक लेभल’ को बोतल बरामत गर्‍यो, जुन आधा रित्तिएको थियो । प्रहरी टोलीले घटनास्थलमा मचुल्का उठाउने क्रममा त्यहाँ युवतीको वयान पनि लिएको थियो ।

होटलबाट निस्कने क्रममा प्रहरी टोलीले महेन्द्र शालिक चोक छेउमा एक युवकलाई भेट्टायो, जसलाई अघिल्लो दिन शैलेशले ‘भाइ’ भनेर लाजिम्पाटको रेष्टुरेन्टमा युवतीसँग चिनजान गराएका थिए । प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो ।

प्रहरीको टोली दरबारमार्ग वृत्तमा फर्कंदासम्म त्यहाँ युवतीका ‘प्रेमी’ भनिएका शैलेश कार्की र युवतीका अभिभावकहरु आइपुगेका थिए ।

‘बलात्कार’ को छानविन छाडेर बिहेको कुरा

‘सामुहिक बलात्कार’ को छानविन गर्नुपर्ने दरबारमार्ग प्रहरी यहीँनेर चुकेको देखिन्छ । किनभने, सामुहिक बलात्कारको उजुरी दिएकी युवतीलाई साथैमा राखेर दुबै परिवारबीच शैलेश र युवतीको विवाह गरिदिने अनि निश्चित रकम दिने सहमति भयो । यस्तो मिलापत्र गराउने कार्यमा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेले ।

प्रहरी कार्यालयमै आर्थिक लेनदेन र बिहेको कुरो छिनेपछि दुबै परिवार हिडेँ । रकम लिएको आरोपमा हाल छानविनमा तानिएका प्रहरी अधिकारीहरु पनि चुप लागेर बसे । दुई दिनसम्म घटना सेलायो ।

घटनालाई ‘थामथुम’ बनाउन मोटो रकमको चलखेल भएको आशंकामा प्रहरीमाथि पनि अहिले अनुसन्धान भइरहेको छ । इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । सई चन्द्र भण्डारी पनि निलम्वनमा परेका छन् भने डीएसपी तिलक भारतीमाथि पनि अनुसन्धान भइरहेको छ ।

‘बलात्कार’ कि राजीखुशी ?

आफूमाथि सामुहिक बलात्कार भएको उजुरी गर्ने युवती अन्ततः प्रहरी कार्यालयभित्रै बिहेको कुरा छिनेर हिँडेपछि सामसुम भएको कथाले मंगलबार अर्कै मोड लियो, जतिबेला पत्रपत्रिका र अनलाइनहरुमा सामुहिक बलात्कारको घटनामा मिलापत्र गराइएको समाचार प्रकाशित भयो ।

मिलापत्र भएको घटना खुलासा हुनासाथ काठमाडौं प्रहरी परिसरले एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन टोली बनाएर अनुसन्धान थाल्यो । दरबारमार्ग बृत्तका प्रहरी नै विभागीय अनुसन्धानमा तानिए । प्रहरीले युवतीलाई पक्राउ गर्‍यो र वयान लिन सुरु गर्‍यो ।

सुरुमा पीडित युवती प्रहरीको सम्पर्कमै आउन चाहिनन् । उनी बुधबार प्रहरीसमक्ष त पुगिन् । तर, उनले एकाएक वयान फेरेकी छिन् र बलात्कार नभई राजीखुशीमै सबै कुरा भएको बताएकी छन् । युवतीको यस्तो वयानले प्रहरीको अनुसन्धानलाई थप जटिल बनाइदिएको छ ।

युवतीले एकाएक वयान फेरेको र आकस्मिकरुपमा उनको बैंक एकाउन्टमा मोटो रकम आएको देखिएपछि प्रहरीले युवतीलाई पनि हिरासतमै राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

स्रोतका अनुसार अनुसन्धानका क्रममा प्रहरीले झम्सीखेलस्थित युवतीको डेराबाट उनकी आमालाई नियन्त्रणमा लिएको थियो । र, उनकै माध्यमबाट पीडितलाई बोलाइएको थियो । आमालाई पक्राउ गरेपछिमात्रै छोरी प्रहरीको सम्पर्कमा आएकी हुन् ।

मेडिकल रिपोर्ट के भन्छ ?

सामान्यतः बलात्कार वा जबरजस्तीकरणीको केसमा पीडितको गुप्ताङ्गको मेडिकल रिपोर्ट लिने गरिन्छ । र, सो रिपोर्टले अनुसन्धानमा सहयोग पुर्‍याउने गर्छ । तर, यो प्रकरणमा युवतीको मेडिकल रिपोर्टले प्रहरीलाई थप चुनौती दिएको छ ।

प्रहरीले युवतीको स्वास्थ्य परीक्षण पनि गराएको छ । तर, युवतीले राजीखुशीले यौनसम्बन्ध राखेको भनिरहेको अवस्थामा गुप्ताङ्गको परीक्षण बलात्कार ठम्याउन सकिने अवस्था नदेखिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार युवतीको यौनाङ्ग पहिल्यैदेखि नै ‘सेक्सुअल्ली एक्टिभ’ देखिएकाले बलात्कार भएको प्रमाण जुटाउन गाह्रो परेको प्रसुती गृहको मेडिकल रिपोर्टमा उल्लेख छ ।

युवतीले राजीखुशीमा यौन सम्बन्ध रहेको वयान दिएको स्थितिमा उनको मेडिकल रिपोर्टकै आधारमा बलात्कार भएको हो वा होइन भन्न सकिने अवस्था नरहेको र यसबारे थप अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ ।