बैतडीमा उपनिर्वाचनः आठ जनाको उम्मेद्वारी


विनोद सिंह विष्ट, बैतडी ।
उपनिर्वाचनका लागी बैतडीमा ८ उम्मेद्वारको मनोनयन दर्ता भएको छ । वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागी ८ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । आगामी मंसीर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिकामा ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा उपनिर्वाचन हुदैंछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीका ३ वटै वडामा आज उम्मेद्वारको मनोनयन दर्ता भएको छ । सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४ र पुर्चौंडी नगरपालिका ४ को वडा अध्यक्ष पदका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । सुर्नया गाउँपालिका वडा नं १ मा अध्यक्ष पदका लागि दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।

यस्तै पुरचौंडी नगरपालिका वडा नं ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनील चन्दले जानकारी दिनुभयो ।

यस्तै दोगडाकेदार गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।