अमेरिका जाने आशले बनायो बन्धक, एक वर्षपछि उद्दार, भारतीय ऐजेन्ट पक्राउ

0
Shares

काठमाडौं। अमेरिका लैजाने बहानामा अफ्रिकी देश मलावी पुर्‍याइएका ६ जन नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेर नेपाल फिर्ता ल्याएको छ। मलावीमा बन्धक बनाइएका उनीहरुलाई स्थानीय प्रहरीको सहयोगमा ब्युरोले उद्धार गरेको हो ।

एक वर्ष अगाडि उनीहरुलाई अमेरिका लैजाने भन्दै भियतनाम, इथियोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकी देश मलावी पुर्‍याइएको खुल्न आएको छ । उद्धार गरिएकामध्ये ४ जना पर्वतका, एक जना दाङ र एक जना रुकुमका छन् । अन्य दुई युवाको भने उद्धार कार्य जारी रहेको ब्युरोले जनाएको छ ।

मानव तस्कर गिरोहले अमेरिका लैजाने बताउदै उनीहरुलाई नेपालबाट भियतानाम पुर्‍याएका थिए । २० दिन भियतनाममा राखेपछि ४ महिनामा इथियोपिया, त्यसपछि २५ दिन माडागास्कार, १ महिना जोर्डन, ४५ दिन दुबई, अजरबैजान २० दिन राखी अन्तमा मलावी पुर्या‍एको खुलेको छ । बिचल्ली परेपछि पीडित युवाका परिवारले ब्युरोमा कात्तिक २० गते उजुरी दिएका थिए।

मानव तस्करी कार्यमा संलग्न एक भारतीय मूलका मलावी नागरिक नाजिर अहमदलाई प्रहरीले पक्राउ गरेको छ । अहमदमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।