मेडिकल कलेजहरूलाई सरकारको अल्टिमेटम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरूलाई १५ दिने अल्टिमेटम दिएको छ। निजी मेडिकलहरूले २०७२ र २०७५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बढी रकम फिर्ता वा समायोजन नगरे ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ।

मन्त्री पोखरेलले १५ दिनको अल्टिमेटमपछि कानुनी प्रक्रिया अपनाउन गृहमन्त्रीसँग छलफल गर्नुभएको छ। मनोमानी शुल्क लिएका निजी मेडिकल कलेजहरूले शुल्क फिर्ता नगर्ने चेतावनी दिइरहेको अवस्थामा मन्त्री पोखरेलले १५ दिनभित्र कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी दिनुभएको हो।

उहाँले विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै भन्नुभयो– ‘कलेजको प्रलोभनमा परेर तपाईंहरू पछि नहट्नुस्, समस्या परेका विद्यार्थीले तत्काल ठगी गर्ने मेडिकल कलेजविरुद्ध उजुरी दिनुस्।’चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न अन्तिमपटक आग्रह गरिएको भन्दै उहाँले कानुनी राजमा कसैले पनि ठगी गर्न नमिल्ने बताउनुभयो।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका उच्च अधिकारी, निजी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने त्रिभुवन र काठमाडौं विश्वविद्यालयका उपकुलपति र डीनसँग छलफल गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो।

शिक्षासचिव महेश दाहालले आन्दोलनरत विद्यार्थीलाई कलेजमा गएर पढ्न आग्रह गर्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाइसकेको बताउनुभयो। मन्त्रालयले हिजो सोमबार गृहमा समेत पत्राचार गरी १५ दिने अल्टिमेटम दिइसकेको र थप प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।