सचिवालयका सबै सदस्य मंसिर एकदेखि औपचारिक रुपमा हटने पक्का


न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको सचिवालयका सबै सदस्यलाई एक मंसिरदेखि औपचारिक रुपमा हटाउने पक्का भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयका धेरै सदस्यलाई सिधा राजीनामा गर्नका लागि बाध्य बनाई नयाँ सचिवालय गठनको तयारीमा छन्।

साढे दुई बर्षसम्म प्रधानमन्त्रीको आसपासमा रहेका र समन्वय गरेका सबै सदस्यलाई एकाएक हटाउनुका विविध कारण रहेका छन् ।

एक जना नेताका अनुसार सरकारका प्रतिनिधि, पार्टीका नेता र प्रधानमन्त्रीबारेका कतिपय सूचना नै बाहिर गलत दिने, प्रधानमन्त्रीका नाममा आर्थिक लाभ लिने गरेको सूचना पहिलो कारण हो ।

प्रधानमन्त्री ओलीका तर्फबाट दिइने विभिन्न प्रकारका स्पष्टीकरणमा पनि सही सूचना नजाने, तथ्यबाहिरका विषय धेरै प्रचारमुखी गराइएको तथा सचिवालयका प्रमुखदेखि नै सबैको आलोचनाले प्रधानमन्त्री बदनाम भएपछि फेर्ने निधो गरिएको बताइएको छ ।

‘सरकारका उपल्ला तहका नियुक्तिमा पनि प्रधानमन्त्रीको कुनै हस्तक्षेप हुने गरेको छैन, प्रमुखहरूलाई स्वतन्त्र र उनीहरूको कार्यक्षमताका आधारमा काम गर्न दिनुपर्छ भन्ने मान्यता छ’, नेकपाका एक नेताले भने,‘तर सचिवालयका धेरैले प्रधानमन्त्रीका नाममा स्वतन्त्रताका साथ काम गर्न नदिइएको गुनासो सुनेपछि सचिवालय परिवर्तनको निर्णयमा प्रधानमन्त्री पुग्नुभयो ।’

कतिसम्म भने प्रमुख प्रतिपक्षी दलका नेता, आफ्नै पार्टीका नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत समन्वयको विषयमा समेत सचिवालयका अधिकारी आलोचित भएका थिए ।

सल्लाहकारहरू, सचिवालयका विभिन्न जिम्मेवारी हेर्ने व्यक्तिहरू सबैलाई राजीनामा गर्न भनेपछि कतिपयले शनिबा र, आइतबार र बाकीँ कतिपयले बुझाउने तयारी छ ।

अब बन्ने सचिवालयमा स्पष्ट निर्देशन र खाकासहित कार्य सम्पादन राम्रो नगरे तुरुन्तै हटाउन सकिने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको बताइन्छ ।