विकासले गति लिएको छः मुख्यमन्त्री पोखरेल    


दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मुलुकमा विकासले गति लिएको बताउनुभएको छ । दाङको घोराहीमा दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ का लागि उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जिल्लामा तीनवटै सरकारले विकास निर्माणको गतिलाई अघि बढाएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले जिल्लामा पछिल्लो समय दर्जनौँ पुल निर्माण पूरा भएका र सडक कालोपत्र गर्ने कार्यले तीव्रता लिएको बताउनुभयो ।

स्व उत्तरकुमार वलीको सपना पूरा गर्न उहाँकी धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उमेदवार बनाइएको उहाँले बताउनुभयो । सभामा उम्मेदवार विमलाले पार्टीले गरेको विश्वास र दिएको जिम्मेवारीलाई श्रीमान्को सपना पूरा गर्ने अवसरका रुपमा लिएको बताउनुभयो ।     रासस