म्याग्दीमा स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा सुरु


प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको समीक्षा सुरु भएको छ । सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आईपास नेपालको सहयोगमा बिहीबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा सुरक्षित गर्भपतन सेवाको सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पछिल्लो समय सङ्घीयताका कारण स्वास्थ्यका सूचकहरुमा गुणस्तर खस्किएको विभिन्न तथ्याङ्कहरुले देखाएको बताएका छन् ।

उनले स्थानीय तहका स्वास्थ्य शाखाहरुले पालिका अन्तर्गतको स्वास्थ्यका गतिविधिहरु जिल्ला स्वास्थ्य कार्यालयलाई रिपोर्टिङ गर्नुपर्ने बताउँदै जिल्ला र पालिकाको संरचना रहेकाले स्वास्थ्य कार्यालयलाई जानकारी गराउनु आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्माले विगत केही समययता म्याग्दी जिल्लामा निमोनिया र श्वासप्रश्वास तथा झाडापखालाका बिरामीहरु बढ्न थालेको जानकारी दिएका छन् ।

उनले सङ्घीयताले स्वास्थ्य क्षेत्रमा असहज परिस्थितिको सिर्जना गरेको बताउँदै कर्मचारी समायोजन भएर धेरै जाने र थोरै आउने कारणले गर्दा समस्या हुने गरेको बताए । उनले स्वास्थ्य संस्था र स्थानीय तहका बिचमा समन्वयको अभाव रहेको समेत बताएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी प्रकाश सुवेदी, बेनी नगरपालिकाका स्वास्थ्य संयोजक कुस्मराज पौडेल, मंगलाका संयोजक बालकृष्ण पौडेल, अन्नपूर्णका संयोजक समुन्द्र बरुवाल र रघुगंगाका सहसंयोजक शिव पाण्डेले आ–आफ्नो पालिकामार्फत गतवर्ष सञ्चालित स्वास्थ्यका गतिविधिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटनसत्र स्वास्थ्य कार्यालय प्रमुख प्रकाशराज शर्माको अध्यक्षता र तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।