डा. केसीको सत्याग्रहप्रति स्थानीयको समर्थन बढ्दो, नागरिक समाजको अगुवाईमा दबाब र्याली


राम धामी, डडेल्धुरा ।

सत्रौ पटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरु गरेका चिकित्सा शिक्षा सुधारकाअभियन्ता डा. गोविन्द केसीको आन्दोलनप्रति स्थानीय स्तरमा समर्थन बढ्दै गएको छ ।

डा. केसीले सोमबारदेखि शुरु गरेको सत्याग्रहको चौथो दिन बिहीबार डडेल्धुरामा प्रा डाक्टर गोविन्द केसीको सत्याग्रहको समर्थनमा शान्तिपुर्ण दवाव र्याली निकालिएको छ । नागरिक समाज डडेल्धुराको अगुवाइमा डा. केसीका माग सम्बोधनगर्न सरकारलाई दबाब दिने उदेश्यले दबाब र्याली निकालिएको हो ।

डडेल्धुरा सदरमुकाम स्थित बसपार्कबाट निकालिएको दबाब ¥याली डाक्टर केसी अनशनरत स्थलमा गएर टुङ्गिएको थियो । ‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर, डा. केसीको जीवनको रक्षा गर,’ लगायतका नारा लगाएर जिल्लास्थित नागरिक समाज सम्वद्ध संघ संस्थाका प्रतिनिधीहरुले दबाब सिजर्ना गरेका छन ।

सत्याग्रहको चौथोदिन डा. केसीको स्वास्थ्य तेस्रो दिनको तुलनामा बढि खराब नभएको र स्थिर देखिएको चिकित्सकहरुले बताएका छन् । नियमित चेकजाँचपछि बिहीबार बेलुकी डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले सत्याग्रही डा. केसीको स्वास्थ्य अबस्थामा सुधार नआएको तर तेस्रो दिनको तुलनामा नबिग्रेको बताए ।

डा. केसीको समर्थनमा डडेल्धुरा मात्रै नभई सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट विज्ञप्ती निकालिन थालिएको छ भने कतिपय अगुवाहरु आएर डा. केसीसँग भेटघाट गर्दै एक्यवद्धता जनाई रहेका छन् ।