नक्कली कागजात बनाई चार करोड ६० लाख रुपैयाँ ठगी गर्ने सात पक्राउ


न्युज अफ नेपाल, भद्रपुर ।

नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा झापा प्रहरीद्धारा पक्राउ परेका ६ सहति ७ जनालाई ठगी तथा सरकारी छाप दुरुपयोग गरेको आरोपमा मुद्दा चलाएको छ ।

पक्राउ परेका ६ जनाले राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोप उनीहरुलाई प्रहरीले लगाएको हो । पक्राउ पर्नेले काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीका लागि बैंक अफ काठमाण्डौंबाट चार करोड ६० लाख रुपैयाँ कर्जा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको इटहरीमा रहेको एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङको बेलबारी–३ का इञ्जिनीयर कर्ण चाम्लिङ, मकवानपुरको हेटौँडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाण्डौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाइघाट घर बताउने हाल काठमाण्डौँ–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् ।

‘बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो’, प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो , ‘राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।’

उनीहरुले झापा कनकाई नगरपालिका–९ को कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघा जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको पाइएको उहाँले बताउँनुभयो । उनीहरुविरुद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बिर्तामोड नगरपालिका –५ का रिता कार्की र बिनिता लामाको उजुरीका आधारमा दमकका सुवास दाहाललाई ठगी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको बिषेश प्रहरी टोलीले दमक ४ बस्ने दाहाललाई पक्राउ गरेको जनाएको छ । दाहालमाथी म्याद थप गरी अनुसंधान भइरहेको प्रहरीको भनाई छ ।