ठेकेदार भागेपछि सात बर्षदेखि सडक अलपत्र


रोशनी भट्टराइ, मोरङ ।
मोरङको उर्लाबारी,मधुमल्ला जोड्ने सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको छ । निर्माण कार्यलाई बीचमै छाडेर ठेकेदार बेपत्ता भएपछि ७ बर्षमा पनि सो सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाँउपालिका जोड्ने सडकको निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको हो । १२ किलोमिटर ४० मिटरको सो सडक खण्ड ०६९ सालमा ठेक्का लागेर ०७१ साल जेठ ३ गते निर्माण सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कार्य बीचमै छाडेर ठेकेदार सम्पर्क बिहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो ।

२०७२ सालको अन्त्यसम्मपनि ढिलो गतिमा निर्माण कार्य जारी राखेको ठेकेदार पक्षले त्यसपछि काम रोकेको स्थानियले बताएका छन । सो समयमा झण्डै ५० प्रतिसत निर्माण कार्य गरिएपनि त्यो गुणस्तरिय नभएका कारण यतिखेर अधिकांश ठांउमा भत्किएको छ । निर्माणको क्रममा ग्राभेल गरिएको ठाँउहरुमा यतिखेर खाड्ल परेको छ भने कालोपत्रे गरिएको सडक समेत अधिकांश ठाँउमा भत्किएको छ ।

सडकको दुर्दशाका कारण आफुहरुले दुर्घटना र धुलोको पीडा झेल्नुपरेको स्थानीयले देवी खड्काले बताईन । निर्माण कार्यलाई बीचमै छाडेर ठेकेदार बेपत्ता भएपछि स्थानियबासीले समाजसेवी मानबहादुर श्रेष्ठको अध्यक्षतामा बाटो निर्माण पहल समिति गठन गरेर निर्माण कार्यलाई तदारुकता दिन प्रयास गर्दै आएको छ । तर अनेकौं पहल गर्दा समेत निर्माण कार्यलाई निरन्तरता दिलाउन नसकिएको समितिका अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

ललितपुर सातदोबाटोस्थित प्रेरा,जेभी कन्सट्रक्सनले सो सडकको ठेक्का लिएको छ । तत्कालिन पुर्वाञ्चल डिभिजन सडक कार्यालय ३ नम्बर विराटनगरले ठेक्का लगाएको सो सडक यतिखेर प्रदेश सरकारको मातहतमा आएको छ ।

पटकपटक पत्र काटेर निर्माण कार्य सुचारु गर्न आफुहरुले आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको बिषयमा अख्तियारले समेत गहन छानविन गरिरहेको पूर्वाधार विकास कार्यालयका ईन्जीनियर शैलेन्द्रकुमार सिंहले बताए ।

१६ करोड ७४ लाख ५६ हजार स्टीमेट रकम रहेपनि त्यो भन्दा झण्डै ४४ प्रतिसत कम रकममा ठेकेदार पक्षले ठेक्का स्वीकार गरेको पाइएको छ । हालसम्म ठेकेदार पक्षले ४ करोड २७ लाख ७१ हजार बढी रकम समेत सम्बन्धित कार्यालयबाट बुझि सकेको देखिएको छ ।