अतिक्रमित नेपाली भू–भाग समस्याको समाधानमा गम्भिर नभए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

प्रसङ्ग नेपाली भू–भाग अतिक्रमण


यमलाल भुसाल, बुटवल ।
भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भू–भाग अतिक्रमित भएको भन्दै तत्काल भारतीय समकक्षीसंग कुटनीतिक वार्ता गरि समस्याको समाधान निकाल्न सरकार गम्भिर हुनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गरि, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न नेपाल सरकार जिम्मेवारी र गम्भिर रुपमा लाग्न वक्ताहरुले माग गरेका छन । रिपोटर्स क्लव प्रदेश पाँचले विहिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्नेहरुले राष्ट्रियता र सामरिक महत्व भएको विषयमा सरकार गम्भिर नभए सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

कार्यक्रममा सीमा जानकार तथा नेकपाका नेता साध्य बहादुर भण्डारीले लिपुलेक देखि लिम्पीयाधुरासम्म ३७ हजार २ सय हेक्टर जमिन रहेको र भारतले नियतबस नेपाली भू–भाग अतिक्रमण गरेकाले सरकारले कुटनीतिक रुपमा पहल गरि नक्शावाट हटाउन लगाउनु पर्ने बताउनु भयो ।

उहाँले भारतले लिपुलेक मात्र नभई सुस्ता, गण्डाचोक लगायतका ५३ स्थानमा नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै दुई तिहाईको सरकारले स–प्रमाण सहित भारतसंग कुटनीतिक वार्ता गर्न आग्रह गर्नु भयो । सरकारले सुर्यनाथ उपाध्याय र ईपीजीओको प्रतिवेदन सार्वजनिक गरि भारतसंग कुटनैतिक सम्बन्ध र क्षमता भएका व्यक्तिको समुहलाई प्रयोग गरेर भए पनि समाधान निकाल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

भारतले अन्र्तराष्ट्रिय रुपमा छवी राम्रो देखाउन पनि नक्शालाई परिवर्तन गर्न जरुरी रहेको नेता भण्डारीले बताउनु भयो ।

कार्यक्रममा प्राध्यापक दिल शाहनीले सरकारले जिम्मेवारी पूर्वक कुटनीतिक रुपमा पहल गर्नु पर्ने भन्दै त्यती गर्दा पनि भारतीय सरकारले नसुने अन्र्तराष्ट्रिय रुपमा ऐजेन्डा बनाउनु पर्ने बताउनु भयो ।

अधिवक्ता महेन्द्र पाण्डेले नेपाली भूमी अक्तिक्रमण राष्ट्रियताको विषय भएकाले कुटनीतिक रुपमा पहल गरि समाधान निकाल्नु पर्ने भन्दै सरकार गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो । लेखक ऋषि आजादले सरकार यस विषयमा खुटृा नकमाई भारतीय समकक्षीसंग कुटनीतिक पहल गरि समाधानका वार्ता गर्नु पर्ने धारणा राख्नु भयो ।

क्लवका अध्यक्ष राम कुमार क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको संचालन पत्रकार कपिल ज्ञवालीले गर्नु भएको थियो ।