श्रम कार्यालय विराटनगरले पीडितको तीन करोड बढी रकम असुलिदियो


रोशनी भट्टराई, विराटनगर ।

वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्नेहरुबाट  श्रम तथा रोजगार कार्यालय विराटनगरले पीडितको तीन करोड बढी  रकम असुल गराएको छ ।  वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गर्नेलाई श्रम तथा रोजगार कार्यालय विराटनगरले कारबाही गरी  ३ करोड भन्दा बढी  रकम  असुल गरेको कार्यालयले जनाएको छ  ।

२०७५ फागुन २३ देखि २०७६ असार सम्ममा उक्त रकम असुलेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलले बताए । थप ३ करोड उठाउने पाइप लाइनमा कार्यालय  रहेको  बेला  श्रम विभागले श्रम तथा रोजगार कार्यालयको अधिकार कटौती गरेर ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैदेशिक रोजगारीमा भएको ठगीको मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गरेको  उनले बताए ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारमा भएको ठगीको मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छ । तर विभागलाई अनुसन्धान अधिकृत तोक्ने र अधिकार प्रत्यायोजन गर्न सक्ने अधिकार भने ऐनले दिएको छ । पछिल्लो समय श्रम तथा रोजगार कार्यालय विराटनगरमा श्रम स्वीकृति लिनेहरुको भीड बढेको छ  ।

श्रम स्वीकृतिका लागि दैनिक ३ सय आउने कार्यालयका श्रम अधिकृत  संजेलले बताए ।  कार्यालयको क्षमता भने १ सय ३० जनासम्मलाई मात्र श्रम स्वीकृति दिइने रहेको उनले जानकारी दिए । मंसीर ८ गतेसम्म श्रम स्वीकृतिका लागि टोकन बाँडिसेकेको पनि उनको भनाई थियो । एकातिर दिनपतिदिन श्रम स्वीकृति लिनेहरुको चाप बढेको छ भने अर्कोतर्फ १४ जनाको दरबन्दी रहेको श्रम कार्यालयमा ११ जना मात्र कर्मचारी रहेका छन् ।

कार्यालय सहयोगीदेखि सुरक्षा दिन आएका प्रहरीसम्मले टोकन बाँडने काममा सहयोग पु¥याएको कार्यालयको भनाई छ । अहिले कार्यालयका सबै कर्मचारीहरु बिहानदेखि रातिसम्म खटेर काम गर्दा पनि आएका सबैलाई श्रम स्वीकृति दिन नसकिएको संजेलले बताए । यस्तै प्रविधि र उपकरणको पनि समस्या रहेको उनको भनाई  छ ।