एघार दल र दश स्वतन्त्र उम्मेदवार गरि २१ ले गराए उम्मेदवारी दर्ता


पुष्कर बुढाथोकी, भक्तपुर ।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि एघार दल र दश स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देवी प्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायतको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

काँग्रेसको तर्फबाट कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । काँग्रेसको केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेत, जिल्ला सभापति दुर्लभ थापा सहितको नेतृत्वमा नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति भँडेलले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यता नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल लगायतको नेतृत्वमा नेमकिपाको तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुर्दशन कुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली काँग्रेस (बि.पी.) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा ,कांग्रेस र नेमकिपाले कमलविनायकबाट बाजागाजा सहितको र्याली निकाली मुख्य निर्वाचन कार्यालय पुगेका थिए ।

त्यसैगरि स्वतन्त्र तर्फ कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवन चन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।