पत्नीको हत्यारा पति पक्राउ

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज।

पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी निपुदेवीको हत्या गरेको पुष्टि भएपछि केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ। उनले श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतियामा रहेको ससुराली हिँडेका थिए।

तर बाटोमा उनीहरूबीच विवाद भयो। त्यही क्रममा केदार मोटरसाइकलमा पेट्रोल सकियो, म पेट्रोल लिएर आउँछु भन्दै श्रीमतीलाई त्यहीँ छाडेर गए।

बाघमोर्चा चोकबाट उनले १५ रुपियाँमा चक्कु किनेर फर्किए। उनले श्रीमती निपुलाई ओरिया खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको बताएका छन्।

हत्यापछि निपुको शवलाई त्यहीँ फालेर हिँडेका केदार श्रीमती हराइन भन्दै खोजी गर्दै हिँडेका थिए। ससुरा कपिललाई पनि आफू पेट्रोल लिन जाँदा निपुले छोडेर भागिन भनेका थिए।

खोजबिन गर्ने क्रममा गोठालाल उनको शव भेटिएको भन्दै उनले नै प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार केदारले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।

पत्नी छाडेर बाहिर बसेका रामबाबु र निपुबीच परस्त्री तथा परपुरुषका विषयमा झगडा भएको र रिसको झोंकमा रामबाबुले हत्या गरेको पाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो। केदारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।