अपहरित बालक सकुशल मुक्त

0
Shares

काठमाडौं, (नेस)।

अपहरणमा परेका एक बालकलाई बीरगंजको खलवाटोलाबाट प्रहरीले सकुशल उद्दार गरेको छ। साथै अपहरणमा संलग्न पर्सा पोखरीया नगरपालिका–६ सोनवरी बस्ने राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको बनेपा बस्दै आएका बीरगंज महानगरपालिका–२५ सिर्सिया घर भएका ती बालक कात्तिक १० गते काभ्रे बनेपाबाट घरतर्फ आउने क्रममा बेपत्ता भएपछि उनकै मोबाइलबाट बालकका बाबुसँग अपरिचित व्यक्तिले १२ लाख रुपैयाँ फिरौती रकम माग गरेको र नदिएमा हत्या गर्ने धम्की आएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

बालकको खोजी तथा अनुसन्धानको क्रममा अपहरित बालकका बाबुसँग फिरौती रकम लिन भारतबाट मोटरसाइकलमा आएका दासले पेस्तोल देखाई झोला खोसी भाग्न खोजेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुडामुनी गोली प्रहार गर्दा घाइते भएका दासको नारायणी अस्पताल बीरगंजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

दासले प्रयोग गरेको बिआर २२ जे ०८०३ नम्बरको मोटरसाइकल, कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलमा लोड गरिएको गोली १ राउण्ड र दासको पाइन्टको खल्तीबाट उक्त कटुवा पेस्तोलमा प्रयोग हुने गोली ४ राउण्ड र मोबाइल १ थान समेत फेला पारी प्रहरीले बरामद गरेको छ।