पर्यटकीय गन्तव्यको बारेमा छलफलको खाँचो


आन्तरिक तथा बाह्य पर्यटनमा प्रख्यात भैसकेका पोखरा, ढोरपाटन, मुक्तिनाथ र लुम्बिनी मात्रै होइन, हामीसँग रहेका सम्भावना बोकेका सबै पर्यटकीय क्षेत्रको विकासको लागि छलफल, गोष्ठी, सहकार्य र योजनाको निर्माण हुन आवश्यक छ।

जिल्लामा रहेका चाहे धार्मिक हुन् वा प्राकृतिक पर्यटकीय सम्भावना रहेका क्षेत्रहरू हुन्, सबैको महत्व कुनै एक पालिका वा स्थान विशेषभन्दा फराकिला रहेका छन्।

यिनको विकास र प्रवद्र्धन गर्दा पुग्न सक्ने फाइदाको विषयलाई मध्यनजर गरेर स्थानीय सरकारले योजना निर्माण गर्ने र साझा कार्यसूची बनाउने काममा लाग्नु आवश्यक छ।

भाषणमा जोडिएको पर्यटनको क्षेत्रले मात्रै विकास र समृद्धिको सपना नदेखे पनि हुन्छ। साँच्चिकै विकास र समृद्धिको लागि पर्यटन क्षेत्रलाई आधार बनाउने हो भने नीति तथा कार्यक्रम निर्माण, बजेटको व्यवस्थापन र खर्च पनि सोही हिसाबको गर्न जरुरी छ।

विकासका लागि सहकार्य हरेक क्षेत्रको लागि आवश्यक कुरा हो। अझै पर्यटन क्षेत्रको विकासका लागि गरिने सहकार्यले अपेक्षित प्रतिफल प्राप्त गर्नको लागि धेरै कुर्नुपर्दैन।

पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्दा मैले के–कति पाउने भन्दा धेरै मैले के–कति योगदान गर्न सक्छु भन्ने विषयमा सोच्न जरुरी छ।

सम्भावना छन् भनेर घोक हाल्ने तर तिनै सम्भावना रहेका क्षेत्रको नजरअन्दाज गर्ने हाम्रो सोच परिवर्तन हुनु जरुरी छ। हाम्रा पर्यटकीय गन्तव्यको बारेमा छलफल गरेर अघि बढ्नुपर्छ।

– ननिता चौधरी,
लेकसाइड, पोखरा।